तेस्रो एनपीआई शैक्षिक मेलामा उत्साहजनक सहभागिता

 

भरतपुर,१७ भदौ । भरतपुरमा जारी तेस्रो एनपीआई चितवन शैक्षिक मेलामा अवलोकनकर्ता विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ । दोस्रो दिन बिहीबार पहिलो दिनभन्दा पनि बढी विद्यार्थीको आकर्षण देखिएको छ ।
मेलामा दोस्रो दिन वक्तृत्वकला प्रतियोगिता गरिएको छ । मेलाको मूला नारा ‘नयाँ युगको नयाँ सोचाइ, स्वदेशी शिक्षा हाम्रो रोजाइँ’ विषयमा गरिएको वक्तृत्वकलामा वाल्मीकि शिक्षा सदन भरतपुरकी शितल उपाध्याया पहिलो भइन् । उनले १२ हजार नगद पुरस्कार जितिन् । त्यस्तै दोस्रो भएका स्काइराइडर उच्च मावि रत्ननगरकी स्मृति वनले १० हजार, तेस्रो भएका लक्ष्मी उच्च मावि नवलपरासीकी पवित्रा पराजुलीले ८ हजार तथा सान्त्वना भएका कुसुम मिश्र र सिसम गुरुङलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइएको छ । वक्तृत्वकलाको निर्णायकमा साहित्यकार गोविन्दराज विनोदी, कवि भूपिन र भाषाविद् डा। मतिप्रसाद ढकाल रहेका थिए ।FB_IMG_1472788525802मेलाको दोस्रो दिन प्राध्यापक रामकुमार तिवारीले विद्यार्थीलाई प्रेरणादायक टिप्स दिएका छन् । त्यस्तै सांस्कृति कार्यक्रममा पपगायक सुनिल गिरी प्रस्तुत भए । मेला आज समापन गरिदैछ । चितवन ग्रीन लायन्स तथा लियो क्लबको आयोजनामा सुरु भएको मेला विद्यार्थीहरुको उल्लेख्य सहभागिता छ । यो चितवनमा तेस्रोपटक आयोजना गरिएको हो । उच्च शिक्षा पढ्न विदेश जानुपर्दैन भनेर सन्देश दिनपनि मेलाको आयोजना गरिएको चितवन ग्रीन लायन्स क्लबका अध्यक्ष माधव रेग्मीले बताए ।
मेलामा चितवन, नवलपरासी, काठमाडौंलगायत जिल्लाका शैक्षिक संस्थाको सहभागिता रहेको ग्रीन लायन्सका तृतीय उपाध्यक्ष किशोर सापकोटाले बताए । काठमाडौंबाट कान्तिपुर इन्टरनेशनल, नेपाल इन्जिनियरिङ तथा हिलसाइड कलेज छ भने आईटीमा गैंडाकोटको अक्सफोर्ड कलेज छ । यस्तै युटेक, पोलिटेक्नीक, बालकुमारी लगायत कलेजले प्रदर्शनमा छन् ।
मेलामा राखिएका ३४ स्टलमध्ये अधिकाशं प्राविधिक विषयका रहेको आयोजकले जनाएको छ । स्वदेशी शिक्षालाई प्रवद्र्धन गर्ने लक्ष्य सहित ‘नयाँ युगको नयाँ सोचाइ, स्वदेशी शिक्षा हाम्रो रोजाइँ’ नाराका साथ तीनदिने मेला गरिएको हो ।
यसैबीच नेपाल पोलिटेक्निक कलेजका विद्यार्थीले बनाएका दुईथरि रोबोट मेलामा देख्न सकिन्छ । पहिलो रोबोटलाई ब्लुटुथ कनेक्टर प्रयोग गरेर आवाजले मोबाइलबाटै पनि नियन्त्रण गर्न सकिन्छ । “यो अपांगता भएकाहरुलाई उपयुक्त रोबोर्ट हो”, चितवन शैक्षिक मेलामा रोबोट प्रदर्शन गर्दै गरेका विद्यार्थी विवेक सापकोटाले भने, “कुनै सामान आवाजकै माध्यमबाट मगाउन सकिन्छ, मान्छे गैरहनुपर्दैन ।” पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले अर्को रोबोट पनि बनाएका छन् । कुनै मान्छे जान नसक्ने ठाउँ अथवा मान्छे अड्किएका छन् भने उसलाई चाहिएको चिज पु¥याउन र अवस्था पत्ता लगाउन अर्को रोबोट प्रदर्शनमा छ ।
२२ जना विद्यार्थी मिलेर बनाएको ती दुई रोबोट शैक्षिक मेलाका मुख्य आकर्षण बनेका छन् । क्यामेरा घुमाउन मिल्छ, अडियो कन्ट्रोल पनि छ । “मान्छे जान नसक्ने स्थामा कोही अलपत्र परेका छन् भने रोबोट पठाएर उसलाई के चाहिएको हो, सबै रेकर्ड गरेर ल्याउन सकिन्छ”, अर्का विद्यार्थी नवीन श्रेष्ठ भन्छन् ।
त्यसले आवाज मात्रै रेकर्ड गर्ने नभई कुनै सामान लैजानका लागि समेत सहयोग गर्छ । योसँगै आकर्षक घरहरु निर्माण गरेर विद्यार्थी आकर्षणमा पोलिटेक्निकले विभिन्न शैक्षिक परामर्श समेत दिइरहेको छ । प्राविधिक विषयमा विद्यार्थीहरुको समेत चासो देखिएको छ । एकजना विद्यार्थी राजन शर्माले प्राविधिक शिक्षामा आफ्नो पनि रुची रहेकाले शैक्षिक मेला अवलोकनका लागि आएको बताए । यस्तै युनाईटेड टेक्निकल कलेजले पनि रोबोट नै प्रदर्शनमा राखेको छ । बाटोको रुटअनुसार चल्ने रोबोट प्रदर्शनमा रहेको विद्यार्थी विशाल थापाले बताए ।