चलानी प्रष्ट नहुँदा त्रिशुली बेपत्ताको संख्या अन्यौल, १३ जना वेपत्ता भएको निवेदन

चितवन, १२ भदौ । सरकारी निकायको फितलो अनुगमन र यातायात व्यवसायीले यात्रुको सुरक्षाको बारेमा चासो नदिंदा दुर्घटनापछि क्षतिको एकिन तथ्यांक आउन कठिन भएको छ । शुक्रबार गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नं। को बस त्रिशुली नदीमा खस्दा कति बेपत्ता भए अन्यौल बढेको छ । 16082650fhgfhfh
जिल्ला प्रहरी कार्यालय चितवनमा आजसम्म १३ जनाले आफन्त सोही बसमा परेर बेपत्ता भएको भनि निवेदन दर्ता गराएका छन् । दुर्घटनामा बेपत्ता भएको भन्दै निवेदन दिनेहरुमा रौतहटका कटहरिया ४ बस्ने २९ वर्षिय शम्भुप्रसाद यादव, झुनखुनुवा ८ बस्ने वर्ष २५ का दिपेन्द्र साह, मुटवरुवा २ बस्ने वर्ष ३५ का रामबालक प्रसाद जैसवाल, मुटवरुवा ८ बस्ने वर्ष ३० का मुकेश राम, राजपुर फरदवा ६ बस्ने वर्ष ३६ का ललनकुमार कलवार, खेसरहिया ७ का २८ वर्षिय विश्व नाथ साह, चन्द्रनिगाहपुर नगरपालिका ५ बस्ने पुनमदेवी साह, गरुडा नगरपालिका ५ का २८ वर्षिय संजयकुमार यादव, सर्लाही सुदामा ८ बस्ने वर्ष ३५ का राजीवकुमार सिंह, भारतका रक्सौलका २९ वर्षिय राकेशकुमार गुप्ता, श्यामापुर थाना विहारका ३० वर्षिय राम प्रवेश राय यादव र दरभंग विहारका ४० वर्षिय संजयकुमार चौधरी रहेका छन् ।
बसको क्षमता ३९ सिटको हो । चालक दलका तीन गरी बसमा ४२ जना मात्रै रहेको चलानीमा उल्लेख छ । सामान्यतया बालबालिकाको टिकट काट्ने प्रचलन हुँदैन । यसलाई हेर्दा उक्त बसमा ११ वर्ष मुनिका ५ जना बालबालिका घाईते छन् भने एक जनाको मृत्यु भईसकेको छ । यसबाट बसमा चलानीभन्दा बढी यात्रु भएको देखिन्छ ।
पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार शाही बालबालिकाले टिकट नकाट्ने र सिटभन्दा बढीको ईन्सुरेन्स नहुने बताउनुहुन्छ । ट्राफिक नियम पालनाका लागि यात्रुसंख्या बढी भए पनि सिटभन्दा बढीको चलानी काटिंदैन । शाहीले बसमा यात्रु कति थिए एकिन नभएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर यात्रुको नाम, ठेगाना र सम्पर्क नं। समेत प्रष्ट लेख्नु पर्नेमा यातायात व्यवसायीले प्रष्ट नगरीदिंदा कति यात्रु थिए स्पष्ट नभएको बताउनुहुन्छ । निवेदन परेका नाममाथि प्रहरीले अनुसन्धान थालेको उहाँले बताउनुभयो । चलानी र टिकटमा प्रष्ट विवरण नखुलाएका बसलाई कडाईका साथ चेकजाँच शुरु गरेको पनि कुँवरले बताउनुभयो ।
त्रिशुली घटनामा मृतकको संख्या २२ र घाईते १६ जना छन् । यो तथ्यांकलाई हेर्दा बसमा ५१ जना सवार रहेको देखिन्छ । यद्यपी प्रहरी, यातायात व्यवसायी यो विषयमा अन्यौलता प्रकट गरिरहेका छन् ।
यी मध्ये केहीले जिल्ला प्रशासन कार्यालय रौतहटमा पनि निवेदन दर्ता गराएको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनुभयो । निवेदन आउने क्रम जारी भएको भन्दै उहाँले चलानीमा नाम, ठेगाना प्रष्ट नहुँदा समस्या देखिएको बताउनुभयो ।