सौराहामा सडक कालोपत्रेसँगै आधुनिक प्रविधिको सोलार बत्ती जडान

चितवन, १२ भदौ । नेपालकै तेस्रो पर्यटकिय गन्तव्य चितवन रत्ननगरको सौराहामा सडक स्तरोन्नतीपछि कालोपत्रे गरेर सोलार बत्ती जडान गरिएको छ । यहाँ सडक कालोपत्रे तथा बृक्षारोपण समेत गरेर आधुनिक प्रविधिको सोलार जडान गरिएको हो ।

नेपालकै तेस्रो पर्यटकिय नगरी चितवनको सौराहामा यसअघि सडक खाल्डाखुलडीका कारण जोखिम थियो । बत्ती नहुँदा पर्यटक आवत जावतमा समस्या हुँदै आएकोमा अब सोलार जडान गरेपछि रातभर नै झिलीमिली हुने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।

सडकको स्तरोन्नती गरी कालोपत्रे , बृक्षारोपण र सोलार जडानका लागि रु ७४ लाख ६५ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा निकुञ्जमार्ग टोल विकास संस्थाले यसरी सौराहामा कालोपत्रे गरेर सोलार जडान गरेको हो ।

करिव १ हजार २ सय मिटर सडक कालोपत्रेका लागि रु ५१ लख रुपैयाँ खर्च भएको छ । यस्तै ग्रिनबेल्ट सहितको बृक्षा रोपण र १८ स्थानमा आधुनिक सोलारका लागि झण्डै २३ लाख ६५ हजार खर्च भएको संस्थाका सदस्य जितु तामाङले जानकारी दिनुभयो । यसका २० प्रतशत स्थानिय जनसहभागिता छ ।

अघिपछि कुरुप देखिएको सौराहा बजार अहिले कालोपत्रे बृक्षा रोपण र सोलार जडानका कारण आकर्षक बनेको स्थानिय सुरज पौडेलले जानकारी दिनुभयो । रासस