पाँच ग्राहकबाट १४ लाख असुली

चितवन, ०८ भदौ. । नेपाल विद्युत प्राधिकरण भरतपुर विरतण केन्द्रले बिद्युत बक्यौता बाँकी रहेका ग्राहकको लाइन काट्न योजना तयार पारेको छ ।
दुई महिना भन्दा लामो समयसम्म विद्युतको महसुल भुक्तानी नगर्ने ग्राहकको विद्युत लाइन काट्नको लागि नेपाल विद्युत प्राधिकरणको निर्देशन बमोजिम आफूहरुले तयारी थालेको भरतपुर वितरण केन्द्रले जनाएको छ । दुई लाख रुपैयाँ भन्दा बढी बिद्युत महसुल बक्यौता रहेका ग्राहकहरुको बत्ती काट्ने काम पहिलो चरणमा गरिने कार्यालयले जनाएको छ । विद्युत महसुल भुक्तानी नगरेका र अटेर गरेका ग्राहकले समेत विद्युत काटिने डरले महसुल भुक्तानी गर्न थालेको स्रोतले बतायो । bidhyut-mahasul
आर्थिक वर्ष २०७३/०७४ को साउन मसान्तसम्म दुई लाख रुपैयाँ भन्दा बढी महसुल बक्यौता रहेका १५ जना ग्राहकको बत्ती मंगलबार काट्ने तयारीमा प्राधिकरणको भरतपुर वितरण केन्द्र रहेको स्रोतले जनाएको छ । दुई लाख रुपैयाँ भन्दा बढी बक्यौता भएका १५ जना ग्राहकहरुसँग जरिवाना बाहेक ५२ लाख रुपैयाँ रकम असुल गर्न बाँकी रहेको स्रोतले बतायो । यसरी लामो समयसम्म बिद्युत महसुल नतिरको ग्राहकहरुको लिष्ट तयार पारेर बत्ती काट्दै रकम असुल्ने कामलाई अगाडि बढाउने भरतपुर वितरण केन्द्रले जनाएको छ ।
दुई महिना भन्दा बढी समयसम्म र दुई लाख रुपैयाँ भन्दा बढी महसुल बक्यौता रहेका ग्राकहको बत्ती काटेर महसुल असुल गरेपछि दोस्रो चरणको काम अगाडि बढाउने योजनामा प्राधिकरण रहेको छ । त्यसपछि, एक लाख, ५० हजार, २५ हजार, १० हजार र पाँच हजार बक्यौता रहेका ग्राहकहरुको बत्ती काट्ने काम अगाडि बढाइने स्रोतले जनाएको छ । क्षेत्रहरु लिष्टिङ गर्दै गएपछि प्राथमिकताको आधारमा ग्राहकहरुको बत्ती काटिने प्राधिकरणले जनाएको छ ।
बत्ती काट्नु अगाडि नै बक्यौता महसुल जरिवाना सहित भुक्तानी गरेमा ती ग्राहकहरुको बत्ती नकाटिने अन्यथा बक्यौता रहेका सबै ग्राहकको बत्ती काटिने प्राधिकरणले जनाएको छ । सोमबार बत्ती काट्ने तयारी गरेका ग्राहकले दिउँसो ३ बजेभन्दा अगाडि नै आएर विद्युल महसुल भुक्तानी गरेपछि बत्ती नकाटिएको प्राधिकरणले जनाएको छ । एक लाख रुपैयाँभन्दा बढी विद्युत महसुल बक्यौता रहेका ३९ जना ग्राहकहरु रहेका छन् ।
एकै दिनमा १४ लाख उठ्यो
नेपाल विद्युत प्राधिकरण भरतुर विरतण केन्द्रले बिद्युत महसुल नतिरेका ग्राहकको लाइन काट्ने बताएपछि सोमबार एकै दिनमा १४ लाख रुपैयाँ बक्यौता संकलन भएको छ ।
लामो समयसम्म बिद्युत महसुल भुक्तानी नगरेका विभिन्न पाँच जना ग्राहकबाट विद्युत प्राधिकरले सोमबार १४ लाख रुपैयाँ असुल गरेको हो । प्राधिकरणले केन्द्रको आदेश भन्दै विद्युत काटिने जानकारी गराएपछि भरतपुरमा रहेका पाँच जना ग्राहकले सोमबार बिहानै विद्युत महसुल भुक्तानी गरेका जनाएको छ ।
नारायणगढको बेलचोकमा रहेको पञ्चरत्न फिडले पाँच लाख रुपैयाँ, भरतपुर ११ मा रहेको नेपाल खानेपानी योजनाले तीन लाख, नारायणगढको बाह्रघरेमा रहेको सुलभ प्लाष्टिक उद्योगले दुई लाख, हाकिम चोकमा रहेको एस के इलेक्ट्रिसिटी वर्कशपले दुई लाख र भरतपुर ११ गोन्द्राङमा रहेको चितवन कोल्ड स्टोरले दुई लाख रुपैयाँ सोमबार भुक्तानी गरेका हुन् । लामो समयसम्म रकम भुक्तानी नगरेका यी संस्थाहरुको सोमबार बत्ती काट्ने भनिएपनि सोमबार बिहानै रकम भुक्तानी भएपछि विद्युत नकाटिएको प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई पञ्चरत्न फिडले १४ लाख १७ हजार पाँच सय ३९ रुपैयाँ, सुलभ प्लाष्टिक उद्योगले पाँच लाख ५८ हजार चार सय ४४, एस के इलेक्ट्रिसिटी वर्कशपले चार लाख ७२ हजार आठ सय ५८, चितवन कोल्ट स्टोरले तीन लाख ७६ हजार नौ सय ७६ र नेपाल खानेपानी योजनाले दुई लाख ४९ हजार नौ सय ९७ रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।