गैँडा मृत्यु प्रकरणमा नौ जनाविरुद्ध मुद्दा

 

भरतपुर,८ भदौ । पश्चिम चितवनको मेघौलीमा करेन्ट लागेर गैँडा मरेको घटनामा मंगलबार जिल्ला अदालत चितवनमा नौ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले आवश्यक अनुसन्धानपछि आज मुद्दा दर्ता गराएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । नेपालको संविधान २०७२ संशोधनपछि जिल्ला अदालत चितवनमा गैँडासम्बन्धी मुद्दा दर्ता भएको यो पहिलो हो । वन्यजन्तु संरक्षण ऐनको २६ को उपदफा १ अनुसार मुद्दा दर्ता भएको जनाइएको छ ।gaida-3-800x445
एक वर्षभन्दा बढी सजाय हुने खालका मुद्दा निकुञ्जले हेर्न नपाउने व्यवस्था भएअनुसार अहिले मुद्दा अदालतमा आएको हो । यसअघि १५ वर्षसम्मका कैद हुने मुद्दासमेत चितवन निकुञ्ज आफैँले फैसला गर्दै आएको थियो । जिल्ला अदालत चितवनका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासमा आजबाट उनीहरुको बयान लिन सुरु भएको जानकारी दिए ।
बयान सकिएपछि थुनछेक बहस हुने अदालतका शाखा अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । गैँडा मुत्यु प्रकरणमा चितवन निकुञ्जले स्थानीय एक होटलका नौ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि मंगलबार मुद्दा दर्ता गराएको हो ।
यसरी नियन्त्रणमा रहेकामा स्थानीय होटलका कर्मचारी रीतेश भट्ट, भारतीय नागरिक दिपु शशी, विरजा महतो, सुनिल महतो, बुद्धिराम महतो, सुवार गदाल, गिरिजलाल बहरिया, जिवन चौधरी र विकास दराई रहेका छन् । चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराई अगाडि यही साउन २४ गते करेन्ट लागेर एउटा वयस्क पोथी गैँडा मरेको थियो । उक्त होटलका कर्मचारीको लापर्बाहीले करेन्ट छाड्दा गैँडा मरेको आरोपमा निकुञ्जले नौ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो । उक्त होटलको हात्तीसार नजिकै करिब २०० मिटर जङ्गलतर्फ करेन्ट लागेर गैँडा मरेको फेला परेको निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । रासस