नारायणगढमा रोपाईँ जात्रा गरिने

चितवन, ०६ भदौं । ९ गते श्रीकृष्णाष्टमीको दिनमा  रोपाईँ जात्रा मनाइने भएको छ । हरेक वर्ष नारायणी कला मन्दिरको आयोजनामा रोपाईँ जात्रा मनाउने गरिएको छ ।
नेवार जातिको पर्वको रुपमा मनाउने रोपाईँ जात्रालाई सामाजिक सद्भाव कायम गराउने उद्देश्यले सबै जाति र समुदायका व्यक्तिलाई सहभागी गराउँदै आयोजना हुँदै आएको छ । रोपाईँ सकेर क्वाँटी खाएर जीवनलाई नयाँ स्फुर्ति दिइ शारीरिक रुपले समेत सक्षम बनाउने उद्देश्यले रोपाईँ जात्रा आयोजना गर्दै आएको सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । narayani
मनोरञ्जनको लागि मात्र नभइ रामाजिक सहिष्णुता र मातृत्वभाव बढाउने अवसरको रुपमा समेत रोपाईँ जात्रा मनाउन थालिएको रोपाईँ जात्रा २०७३ का संयोजक सुविर श्रेष्ठले बताए । पञ्चेबाजाको धुनसँगै हली, बाउसे, खेतालको पहिरनमा विभिन्न व्यक्तिहरु सजिएर रोपाईँ जात्रा मनाउने गरिन्छ । भदौ ९ गते शनिबारका दिन बिहान साढे सात बजे हो पाँचो हो गरेर रोपाईँ जात्रामा सबैलाई निमन्त्रणा दिने श्रेष्ठले बताए ।
बेलुका कार्यक्रम छ भनेर सबैलाई जानकारी गराउनको लागि हो पाँचो हो गरिने तथा यसको नेपाली भाषामा निमन्त्रणा भएको समेत श्रेष्ठको भनाइ थियो । शनिबार बिहान सबैलाई निमन्त्रणा गरेपछि दिउँसो साढे एक बजे नारायणी कला मन्दिरबाट रोपाईँ जात्रा सुरु हुनेछ । नारायणी कला मन्दिरबाट सुरु भएको रोपाईँ जात्रा बालकुमारी स्कुल चोक, पुतली बजार, भृकुटीपथ, मिलन रोड, सहिद चोक, पुलचोक, मेनरोड, लिलाचोक, दियालो रोड, नारायणगढ बसपार्क, क्षयरोग चोक, प्रगतिपथ, बालकुमारी चोक हुँदै पुनः नारायणी कला मन्दिरमा पुगेर समापन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नारायणी कला मन्दिरका पूर्व अध्यक्ष प्रभात कुमार जोशीले सामाजिक संरचना जटिल बन्दै गएका कारण पर्वको विशेष महत्व हुने बताए । रोपाईँ जात्रालाई नेवारले मात्र सञ्चालन गर्नुपर्छ भन्ने मान्यताबाट माथि उठेर यस जात्रामा सम्पूर्ण समुदायका व्यक्तिलाई सहभागी गराउँदै आएको पियाले जोशीले बताए । सामाजिक सहिष्णुता बढाउनु नै जात्राको मुख्य उद्देश्य भएको रोपाईँ जात्राका आर्थिक संयोजक दिलिप पियाले बताए । पत्रकार सम्मेलन नारायणी कला मन्दिरका अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा भएको थियो ।