नारायणी नदीको कटानले बस्ती जोखिममा

मेघौली, ३ भदौ । पश्चिम चितवनको नारायणी नगरपालिकाको वडा नम्बर १ र २ लाई नारायणी नदीले कटान गरेपछि शुक्रबार अनुगमन गरिएको छ । नदीको कटान क्षेत्रमा सर्वदलीय नगर प्रतिनिधि सहित नारायणी नगरपालिकाबाट स्थलगत निरीक्षण गरिएको कार्यकारी अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
नारायणी नदीले उक्त क्षेत्रमा करिब चार सय मिटर चौडाइ जग्गा कटान गरि बस्तीतर्फ आउँदै गरेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्नको लागि पहल भएको सुवेदीले बताए । नदीले कटान गर्दै आएपछि उक्त स्थानमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको दद्रेनी पोष्ट समेत स्थानान्तरण भइसकेको सुवेदीको भनाइ छ । नदीले कटान गर्दै आएपछि दद्रेनीको सात घर परिवार जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षित स्थानमा सर्नको लागि नगरपालिकाबाट सुचित गरिएको सुवेदीले जानकारी दिए ।
नारायणी नदीको जोखिममा रहेका सात घरलाई आवश्यक पर्ने पाल नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको समेत सुवेदीले बताए । नदी कटान भएको क्षेत्रलाई सुरक्षित पार्नको लागि जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको समेत सुवेदीले जानकारी दिए । नारायणी नगरपालिका विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले उक्त स्थानमा स्थायी तटबन्धनको लागि मन्त्रालयसँग सहयोग माग्ने निर्णय समेत गरेको सुवेदीले बताए ।