स्क्रब टाइफसबाट सय भन्दा बढी प्रभावित

करुणा देवकोटा
चितवन, ३ भदौ । स्क्रब टाइफस रोगबाट चितवनमा एक सय चार जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
जिल्लामा स्क्रब टाइफस रोगबार भ्रामक समाचारह सार्वजनिक हुन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि तथ्यांक सार्वजनिक गरेको हो । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत वैशाख १ गतेदेखि साउन ३२ गतेसम्म दुई सय २२ जनामा स्क्रब टाइफसको परीक्षण गरिएकोमा एक सय चार जनामा संक्रमण भएको पाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
चितवनमा २०७३ साल वैशाखपछि स्क्रब टाइफस रोगको अवस्था र संक्रणको बारेमा शुक्रबार पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको हो । स्क्रब टाइफसका कारण बालबालिकाहरु बढी संक्रमित भएका छन् । बालबालिकाहरु धेरैजसो खुला चौरमा खेल्ने, लामा बाहुला भएका लुगाहरु नलगाउने आदि कारणले बढि संक्रमण देखिएको डा. लम्सालले बताए ।
केही दिनअघि परीक्षण गर्ने किट सकिएकाले उपचारमा समस्या भए पनि हाल किट आइपुगेकोले उपचारमा कुनै समस्या नरहेको डा. लम्सालको भनाइ छ । प्रकोप फैलिंदै गएको भए पनि यहाँको सरकारी अस्पताल भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेज अर्थात पुरानो मेडिकल कलेजमा किट ल्याएर परीक्षण गर्ने काम भएको छैन । हाल चितवनमा नयाँ मेडिकल कलेजमा मात्रै स्क्रब टाइफस रोगको परीक्षण हुँदै आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवनमा यस रोगका कारण मंगलपुरमा ६५ वर्षीया एक महिलाको मृत्यु भएको जानकारी दिए । केसीका अनुसार यसअघि धरानमा उपचारको क्रममा संखुवासभा र भोजपुरका गरी दुई बिरामीको ज्यान गइसकेको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
गत वर्ष नेपालमा सरकारले आधिकारिक रुपमा रोगको संक्रमण पत्ता लागेको जनाएको थियो । मुख्यगरी मुसामा लाग्ने एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्ने गरेको वरिष्ठ फिजिसियन डाक्टर विजय पौडेलले बताए । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्धन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने स्क्रब टाइफस रोगको लक्षण भएको पौडेलको भनाइ थियो ।