नवलपरासी सवारी दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

दयाराम आचार्य ।
नवलपरासी, भदौ ३ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत  नवलपरासीको चोरमारा अरुणखोला बीच जंगलमा आज भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक शिव शर्मा आचार्यका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ निवासी ३५ बर्षीय दीपक चौधरी र सोही स्थानका ३५ बर्षीय पञ्चराम कुमालको घटना स्थलमै ज्यान गएको हो ।
मृतकका आफन्तहरु आएर मृतकको पहिचान गरेको आचार्यले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउंदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलामा सवार दुबै जनाको ज्यान गएको हो ।
कार र कारचालक इलाका प्रहरी कार्यालय नयाँ बेलहानीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगतनै नवलपरासीको चोरमारा डण्डाबीच जंगलमा पर्ने ४० किलोमिटरमा  आज अर्को सवारी दुर्घटना हुंदा ११ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका लु १ ख ९२ ४४ नम्बरको बसले सोहीदिशाबाट आउंदै गरेका लु १ च २२८० नम्बरको कारलाई ठक्कर दिंदा ११ जना घाइते भएका हुन्  । बसमा सवार ९ जना र कारमा सवार २ जना गरी ११ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनाको भरतपुर उपचारका लागि पठाइएको छ ।