तीन वर्षसम्म पनि इन्टेक पाइप मर्मत भएन

आनन्द पोखरेल
चितवन, २ भदौ । तीन वर्ष अगाडिदेखि बिग्रीएको इन्टेक पाइप निर्माण नहुँदा जल मापन केन्द्र देवघाटमा काम गर्न कठिनाइ भएको छ ।
विक्रम सम्वत २०७० साउन ७ गते आएको बाढीले भाँचेको दुई वटा इन्टेक पाइप अझैसम्म मर्मत नहुँदा समस्या भएको सहत मापनकर्ता कृष्ण बहादुर अधिकारीले बताए । इन्टेक पाइपबाट सुरुङमा नारायणी नदीको पानी पठाएर बहाब नाप्ने काम हुने गरेकोमा अहिले बाहिरबाटै पानीको बहाप नाप्नुपर्ने बाध्यता भएको अधिकारीले बताए ।vlcsnap-2016-08-18-18h51m07s161
दुई वटा पाइप मर्मत गर्नको लागि करिब २० हजार रुपैयाँ लाग्ने भएपनि जल तथा मौसम विज्ञान विभागले काम गर्नको लागि अख्तियारी नदिएको अधिकारीको भनाइ छ । बाढीका कारण पाइप बिग्रीएपछि विभागलाई जानकारी गराउँदा समेत तीन वर्ष बितिसकेको अवस्थामा पनि काम हुन नसकेको अधिकारीले बताए ।
त्यसैगरी, गएको साउन ११ गते आएको ठूलो बाढीले जल मापन केन्द्रको लोर गेट समेत बगाएको अधिकारीले बताए । वर्षा याममा बन्द गर्ने र हिउँदमा खुला गर्ने गेज हाउसको गेट नदीले बगाउँदा गेज हाउसमा फोहोर धेरै जम्ने अधिकारीले बताए । गेज हाउस ११ मिटर गहिरो रहेको छ भने गेज हाउसबाट नै नारायणी नदीको बहाव र गहिराइ मापन हुँदै आएको छ । साउन ११ गतेको बाढीले पानीको गहिराइ नाप्ने वाटर लेभल रेकर्डरमा समस्या आएपछि परिवर्तन गरिएको अधिकारीको भनाइ छ ।
वाटर लेभल रेकर्डर बिग्रेकाले नारायणी नदीमा भएको पानी भन्दा बढी भएको भनेर सूचना बाहिर आएको अधिकारीले जानकारी दिए । हाल नदीको बहाव, गहिराई बारे जानकारी दिने सम्पूर्ण यन्त्रहरु सञ्चालनमा भएको कारण नदीको बहाब र गहिराई साँचो आउने अधिकारीले बताए । हाल नारायणी नदीमा चार दशमलब दुई मिटर गहिराईमा पानी रहेको छ ।