थिएटर निर्माणार्थ एकल कविता वाचन हुने

नारायणगढ, २ भदौ । चितवनमा थिएटर भवन निर्माण सहयोगार्थ कवि मुकुन्द खलपात्रको एकल कविता वाचन हुने भएको छ ।
कर्मी नाट्य समूह चितवन र अराजक अक्षर समूह चितवनको सहकार्यमा भदौ ४ गते दिउँसो ४ बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा एकल कविता वाचन कार्यक्रम हुने भएको हो । चितवनमा कुनै पनि नाटक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नको लागि थिएटर नभएका कारण आफूहरुले थिएटर निर्माणको लागि कविता वाचन कार्यक्रम गर्न लागिएको बिहीबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सुरुमा थोरै फन्ड जम्मा गरेर भएपनि थिएटर निर्माणको लागि जग तयार पार्ने र पछि त्यसलाई मूर्त रुप दिने अराजक अक्षर समूहका सचिव अञ्जान ढुंगानाले बताए । फरक शैलीको कविता लेख्ने व्यक्तिहरु मिलेर अराजक अक्षर समूह निर्माण गरेको ढुंगानाको भनाइ थियो । कवि खलपात्रले आफू कुलतमा फसेर पुनर्जीवन पाएपछि कविता लेखनको यात्रामा लागेको बताए । आत्मपरक शैलीका कविता लेख्ने गरेको बताउँदै खलपात्रले जेलमा हुँदा आफूले सकरात्मक बाटोमा जानको लागि प्रेरणा मिलेको बताए ।
कवि खलपात्रले शनिबार २० वटा कविता वाचन गर्ने बताएका छन् । कविता सुन्नको लागि सय र हजार दरका टिकटको व्यवस्था गरेको बताउँदै खलपात्रले उक्त कविता वाचनबाट थिएटर निर्माणार्थ दुई लाख ५० हजार रुपैयाँ जति संकलन गर्ने बताए ।