तामाङ पत्रकार पेशाबाट पलायन हुने क्रम रोक्नुपर्नेमा जोड

चितवन, ०१ भदौं । तामाङ पत्रकार तथा सञ्चारकर्मीहरु पेशाबाट पलायन हुदै जाने क्रमलाई रोक्नुपर्नेमा चितवनका तामाङ पत्रकारहरुले जोड दिएका छन । २२ औ तामाङ प्रसारण दिवसको अवसरमा बुधबार रत्ननगरमा भएको छलफलमा सहभागी भएका उनीहरुले यस्तो बताएका हुन ।Tmg logo छलफलमा सहभागी तामाङ सञ्चार समुह चितवनकी उपाध्यक्ष सरस्वति लामाले पेशालाई निरन्तरता दिन नसक्नु नै आफुहरुका लागि मुख्य चुनौति भएको बताइन् । उनले चितवनको पत्रकारितामा तामाङहरु न्युन रहेको र भएकाहरुले पनि पेशालाई निरन्तरता दिन मुस्किल परिरहेको उल्लेख गरिन् । तामाङ समुदायमा पत्रकारिताबारे ज्ञानको कमी र सञ्चारगृहबाट चित्तबुझ्दो पारिश्रमिक पाउन कठिन जस्ता समस्याले यस्तो अवस्था आएको उनको भनाई छ । छलफलमा तामाङ सञ्चार समुह चितवनका सचिव ज्ञानेन्द्र तामाङले जिल्लामा अहिले तामाङ पत्रकारिताको बिषयमा चर्चा गरेका थिए । उनले तामाङहरु पत्रकारितामा सक्रिय भइदिए जातीय एवं आदिवासी समुदायको अवाज बुलन्द पार्न सहज हुने भएपनि अहिलेको अवस्था त्यस्तो नरहेको बताए । तामाङ पत्रकारका लागि स्रोत, साधन र अवसरको समेत कमी रहेको उनको भनाई छ । अर्का सञ्चारकर्मी एवं ब्यवसायी राजेश रुम्बाले मुलधारको पत्रकारितामा तामाङहरुले प्रतिस्पर्धा गरि स्थापित हुन सक्नुपर्ने धारणा राखे । यसका लागि आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको उनले बताए । छलफलमा चितवनका क्रियाशिल एक दर्जन तामाङ पत्रकारहरु उपस्थिति थिए । रेडियो नेपालबाट पहिलोपटक २०५१ साल भदौ १ मा तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा मनाउदै आएको तामाङ प्रसारण दिवसको अवसरमा छलफल गरिएको हो । प्रसारण दिवसको अवसरमा तामाङ सञ्चार समुह चितवनले सबैमा शुभकामना समेत दिएको छ ।