बाँदरझुला बस्ती स्थानान्तरण गरिन्छः मन्त्री पाण्डे

गोविन्द न्यौपाने
चितवन, भदौं १ । भुमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले माडी बाँदरझुलाको सुकुम्बासी बस्ती स्थानान्तरण गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल चितवन शाखाले आज ९बुधबार० भरतपुर विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डे सुकुम्बासी बस्तीलाई सही स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढि सकेको बताउनुभयो ।
मन्त्री पाण्डेले वर्षायामसम्ममा भने सो बस्तीलाई केही नगरिने बताउनुभयो । उहाँले भन्नुभयो–“बस्ती स्थानान्तरण गर्नुपर्छ, उचित स्थान पहिचानगरि वर्षायामपछि मात्रै स्थानान्तरण हुन्छ ।” मन्त्री पाण्डेले सुकुम्बासी आयोगले पुनः आफ्नो कामलाई द्रुतगतिमा अघि बढाउने समेत बताउनुभयो ।
यस्तै मन्त्री पाण्डेले पछिल्लो समय भईरहेको धमाधम अव्यवस्थित भुखण्डीकरणलाई रोक्न सरकार लागि परेको बताउनुभयो । उहाँले यसका लागि आफुले पहिलो निर्णय नै भू–नीति सम्बन्धि गरिएको जानकारी दिनुभयो ।
]“अहिले जतापायो त्यतै धमाधम प्लटिङहरु भईरहेका छन्, यसलाई रोक्न जरुरी छ, यसका लागि नै म मन्त्री भएको हुँ”–उहाँले भन्नुभयो । उहाँले आफू मन्त्री भएको तीन दिन मात्र भएको भन्दै सबै अवस्था बुझेर सही निर्णय लिने बताउनुभयो । मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्जको सीमा नै हेरफेर भएको सम्बन्धी कुरा निराधार रहेको भन्दै त्यस्तै कुनै निर्णय नभएको दावी गर्नुभयो ।
यस्तै फरक प्रसंगमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनु भएको मन्त्री पाण्डेले राप्रपा नेपालसंगको पार्टी एकीकरण प्रक्रिया जारी रहेको बताउनुभयो । उहाँले मन्त्री मण्डल गठन गर्नेबेला मात्रै प्रक्रिया रोकिएको भन्दै आन्तरिक प्रक्रिया सबै टुंगिएसंगै पार्टी एकीकरण हुने जिकिर गर्नुभयो । रिपोर्टर्स क्लव नेपाल चितवनका उपाध्यक्ष विप्लव काफ्लेले संचालन गरेको कार्यक्रम क्लवका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।