चर्चित स्कूलका सवारीमा विद्यार्थीको विजोग

चितवन ३० साउन । चितवनमा नाम चलेका नीजी विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुलाई अमानविय तवरले सवारीमा कोचेर यात्रा गराउने गरेका छन् । सवारी भाडाका नाममा चर्को शुल्क लिने विद्यालयहरुले विद्यार्थीहरुलाई सवारीमा कोचेर उठाएर र झुण्ड्याएर यात्रा गराउने गरेका हुन् । आज चितवनको भरतपुरका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाचका क्रममा यस्ता दृश्यहरु देखिएका हुन् ।School-Bus

जिल्लाकै महंगा र चर्चित सनराईज,लिटिलस्टार,वाल्मिकी, अर्किड, स्मलहेभन लगायतका विद्यालयहरुले २५ देखि ३२ सिटसम्मका वसहरुमा ५० जनासम्म कोचेर यात्रा गराईरहेको भेटिएको हो ।

यी विद्यालयहरुले सवारी भाडाका नाममा दुरी हेरी प्रतिविद्यार्थी कम्तीमा ५ सयदेखि २ हजार रुपैयासम्म असुल्ने गरेका छन् । वसमा यात्रा गरिरहेका विद्यार्थीहरुले आफ्ना अभिभावकहरुले भाडाका रुपमा प्रत्येक महिना शुल्क वुझाउने गरेपनि कहिल्यै सिटमा वसेर यात्रा गर्न नपाएको गुनासो गरे । चालकहरुले भने विद्यायलले आफूहरुलाई लगाएको काम वाध्यातत्मक अवस्थामा गरिरहेको भन्दै पन्छिन खोजे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाले अधिकाशं शैक्षिक सस्थाले सिटक्षमता भन्दा वढी विद्यार्थी वोक्ने गरेको गुनासो वढेपछि चेकजाच गरेको जानकारी दिए ।

आजको चेकजाचमा १७ वटा शिक्षालयका सवारी साधन कार्वाहीमा परेकोमा सवैभन्दा वढी विजोग सनराईज इंगलिस स्कुलको रहेको उनले जानकारी दिए । ट्राफिक प्रहरीले कार्वाहीमा परेकालाई तुरुन्त कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।