आर्मी र पुलिस सेमीफाइनलमा 

भरतपुर, २७ साउन ।  विभागीय टिमहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब चितवनको नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबलको सेमीफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएका क्वाटरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा प्रवेश गरेका हुन् । vvvvvvvvv
बिहीबारको पहिलो खेलमा पुलिसले चितवनको एभरेष्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले वीरगञ्ज युथ एकेडेमीलाई समान ३–० ले नै हरायो । अब आर्मीले सेमीफाइनलमा साउन २९ गते न्यूरोड टिम (एनआरटी) को सामना गर्नेछ । पुलिसले भने सेमीफाइनलका लागि प्रतिद्वन्द्वी पाइसकेको छैन । अब शुक्रबार हुने अन्तिम क्वाटरफाइनल विजेता टिमसँग पुलिसले सेमीफाइनल खेल्नेछ । शुक्रबार अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले काठमाडौंको ब्वाइज युनियन क्लबसँग खेल्नेछ ।
एभरेष्ट क्लब चितवनलाई हराउने क्रममा पुलिसका सुमन लामा नायक बने । म्यान अफ दी म्याच बनेका उनले खेलमा व्यक्तिगत दुई गोल गरे । राष्ट्रिय खेलाडी जुमानु राईका कप्तानीमा रहेको पुलिसका लागि सुमनले पहिलो हाफको २९ औं र दोस्रो हाफको ३६ औं मिनेटमा गोल गरे । दोस्रो हाफको १९ औं मिनेटमा पुलिसका रवि पासवानले गोल गरे । पहिलो हाफमा पुलिसलाई राम्रो चुनौती दिएको एभरेष्ट दोस्रो हाफमा केही कमजोर देखियो । पहिलो खेलको म्यान अफ दी म्याच सुमनलाई प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले म्यान अफ दी म्याच ट्रफी प्रदान गरे ।
त्यस्तै अर्को खेलमा आर्मीले वीरगञ्जविरुद्ध सहज जित निकाल्यो । पहिलो हाफमा कडा टक्कर दिएपनि वीरगञ्जले दोस्रो हाफमा खेल कौशल देखाउन सकेन । पहिलो हाफ कुनै गोल गर्न नसकेको आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफको पाँचौं मिनेटमा आर्मीका कप्तान भरत खवासले अर्का स्टार नवयुग श्रेष्ठको पासमा सुन्दर गोल गरे । त्यसको ४ मिनेटपछि नै आर्मीका दीपक गुरुङले गोल गरेर आर्मीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा वीरगञ्जविरुद्ध पूरै हावी भएको आर्मीका लागि अन्तिम गोल दीप लामाले ३२ औं मिनेटमा गरे । खेलमा म्यान अफ दी म्याच बनेका आर्मीका भरत खवासलाई दी फेमस दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटाले ट्रफी प्रदान गरे ।