‘मेघौली सेराइ’को आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा

चितवन, २६ साउन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मर्नुमा एउटा ठूलो पर्यटकीय होटल (रिसोर्ट) को असावधानी सार्वजनिक भएको छ ।
उद्योगपति विनोद चौधरीको व्यावसायिक समूह चौधरी ग्रुपको लागानीमा पश्चिम चितवनको मैघौलीमा सञ्चालन भएको स्तरीय पर्यटकीय होटल ‘मेघौली सेराइ’को आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको थियो ।gaida-3-800x445
होटलको लापरबाहीले गैंडा करेन्ट लागेर मरेको स्थानीयको आरोप छ । चितवन निकुञ्ज कार्यालयले घटनाको अनुसन्धान भइरहेको बताएको छ । अनुसन्धानका लागि केहीलाई निकुञ्जले केही व्यक्तिलाई समाएको पनि छ ।
‘गैंडा बिहानै मरेको रहेछ । पाँचै बजे बोटेहरुले देखेका रहेछन् । मलाई त कसैले खबर गरेन । सात बजेतिर बल्ल गाइँगुइँ सुनेर हेर्न गएको थिएँ’ चितवन निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्याम अधिकारीले भने । गैंडा करेन्ट लागेका कारणले मरेको भन्ने आफूले सुनेको उनले बताए ।
स्थानीयका अनुसार होटल आडैबाट बग्ने राप्ती नदीमा पर्यटक राखेर घुमाउनका लागि होटलले फलामको पाता जोडेर डुंगा बनाउँदै थियो । डुंगा बनाउने बेलामा वोल्डिङ गर्ने कामका लागि करेन्ट बग्ने गरी तार लगिएको थियो । काम सम्पन्न भएपछि करेन्ट बगेको बिजुलीको तार त्यसै छोडियो । नदी छेउमा डुल्दै आएको गैंडा त्यही करेन्ट बगेको तारमा बस्दा करेन्ट लागेर मरेको स्थानीयको अनुमान छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले गैंडाको पोष्टमार्टम रिपोर्ट नआएका कारण यही कारणले गैंडा मरको हो भनेर ठोकुवा गर्न मिल्ने अवस्था नरहेको बताए । प्रारम्भिक अनुसन्धानले करेन्ट लागेर गैंडाको मृत्यु भएको उनले बताए ।
करेन्ट लाग्नुमा होटलको कमजोरी थियो या थिएन भनेर निकुञ्जले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । ‘फिल्डको अवस्था हेर्दा र हाम्रो प्रारम्भिक अनुसन्धानले पनि तपाइँले सुनेको जस्तै शंका गर्ने आधार हामीलाई पनि दिएको छ । तर अनुसन्धान पूरा नभएसम्म भन्न सकिएन’ सूचना अधिकारी अर्यालले भने । गैंडाको पोष्टमार्टम रिपोर्ट एक दुई दिनभित्रै आउने उनले बताए ।
घटनाका बारेमा सोधपुछ गर्न होटलका पाँचजना कामदार र केही स्थानीयलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । मृत गैंडाको खाग खुर भने सुरक्षित छ । खाग तस्करी वा अन्य कारणबाट दुर्लभ वन्यजन्तु गैंडा मारेमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा पाँचदेखि १५ वर्ष कैद वा कैद र जरिवाना दुबै सजाय हुने कानुनी प्रावधान छ ।
तीन साताअघि पनि सेतीदेवी सामुदायिक वनमा एक पोथी गैंडा भालेको बलात्कारबाट मरेको थियो । यसअघि पनि बाली विनाश रोक्न स्थानीयले छाडेको करेन्टमा परेर दर्जनौं गैंडा मरेका छन् ।

मृत अवस्थामा फेला परेको गैंडा । तस्बिर सौजन्यः सुबोध प्रधान