नवलपरासीको हरपुरमा सर्पले टोकेर श्रीमन् श्रीमतीको मृत्यु

दयाराम आचार्य
नवलपरासी,  २६ साउन । नवलपरासीको हरपुर गाविस ८ मुडरामा सर्पले टोकेर श्रीमन् श्रीमतीको मृत्यु भएको छ ।
हरपुर ८का ३५ वर्षका सिउसक हरिजन र उनका श्रीमती वर्ष ३० कि लक्ष्यमिना हरीजनको सर्पले टोकेर ज्यान गएको हो । घरको भुइँमा सुतेको बेलामा राति सर्पले टोकेको जनाइएको छ । सिउसकको खुट्टामा र उनको श्रिमती लक्ष्यमिनाको हातमा सर्पले टोकेको थियो ।
आईतवार राति मदिरा सेवन गरी सुतेका उनीहरूलाइसर्पले टोकेको र सोमबार बिहान मात्र थाहा पाए पछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारको लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा लगिएकोमा अस्पतालमा एन्टि स्नेक भेनम सकिएको कारण उपचार हुन नसकेपछि उनीहरूलाई त्रिवेणीमा उपचारको लागि लैजाने क्रममा दिउसो १२ बजेको समयमा श्रिमती लक्ष्यमिना हरीजनको मृत्यु भएको र श्रिमानको दिउसो २ बजे मृत्यु भएको स्थानीय लक्ष्मी हरीजनले जानकारी दिनु भयो ।
आर्थिक अवस्था कमजोर भएका कारण अन्यत्र उपचारको लागि लान असम्भव भए पछि उनीहरूलाई परासीबाट त्रिवेणीमा रहेको नेपाली सेनाको सर्प दन्श उपचार केन्द्र लाने क्रममा ज्यान गएको जनाइएको छ । उनीहरूका एक जना १२ र अर्का १४ वर्षका दुई छोरा रहेका छन । सर्पले टोकेर आमा बुबाको मृत्यु भए पछि दुवै जना बीचल्लिमा परेका छन । अहिले उनीहरू ठुलो बुबा नाथु हरीजनसँग रहेको जनाइएको छ ।