प्रम पुष्पकमललाई बधाई

नेपालको राजनीतिक इतिहासमा एउटै कम्युनिष्ट नेता दोस्रो पटक मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत असार १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । यस अगाडि पहिलो संविधानसभाको निर्वाचत पश्चात ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका दाहाल यस पटक मुलुकको तेस्रो शक्तिको प्रमुख व्यक्ति भएर पनि प्रधानमन्त्री बन्न सफल भएका छन् । गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा सपथ निर्वाचित भएका दाहाल त्यो समयमा नौ महिना सत्तामा रहेका थिए भने अहिले नौ महिनाकै लागि प्रधानमन्त्रीको कुर्चीमा पुगेका हुन् ।
दाहालले यस पटक चुनौतीको पहाडमा खुट्टा राख्दै प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अगाडि बढ्न सक्यो भने यो सरकार सफल हुनेछ । चीनसँगको द्विपक्षीय सम्बन्ध अगाडि बढाउन सक्यो भने भारतसँगको एकाधिकार तोडिनेछ । अघिल्लो सरकारको यो कदमलाई व्यवहारमा लागू गर्नु दाहाल सरकारको दायित्व हुन आउँछ । दाहाल नेतृत्वको सरकारले मधेसी, जनताति, थारुलगायतका समुदायको मागलाई सम्बोधन गरेर राष्ट्रिय एकता बनाउनु जरुरी छ । राष्ट्रिय हितलाई ध्यानमा राख्दै देशभित्रका सबै समुदायका मागलाई सम्बोधन गरेर सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा दृढ रहनु यस सरकारको सफलता हुन आउँछ । नयाँ संविधान कार्यान्वयन नै यस सरकारको मुख्य चुनौती हो । संविधानप्रति असन्तुष्ट रहेका सबै समुदायलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउनु सकारको आधारभूत काम हो ।
बढ्दो भ्रष्टाचार न्यूनीकरण गर्दै जनताका आधारभूत आवश्यकता पुरा गर्न पहलकदमी भूमिका खेल्नु यस सरकारको अर्को चुनौती हो । दाहालसँग जनताको अपेक्षा धेरै नै छन् किनकी उनको नेतृत्वमा सञ्चालित सशस्त्र युद्धमा बाँडिएका अनेकन आश्वासन, समानता र समृद्धिका सपनालाई साथ दिँदै हजारौँ नेपालीले जीवन गुमाएका छन् । देशको अहिलेको समग्र परिस्थिति हेर्दा दाहाल सम्भावना भन्दा चुनौतीको भारी बोकेर प्रधानमन्त्री बनेका हुन् । यो चुनौतीको समाना गर्न सकेको अवस्थामा ओरालो लागेको दाहालको छवि, चोइटिदै गएको पार्टी, लामो राजनीतिक सङ्क्रमण र अन्योलताको खाडलमा परेको मुलुकले समेत निकास पाउने देखिन्छ । पुष्पकमल चुनौतीको सामना गर्दै देशलाई राजनीतिक सङ्क्रमण र अन्योलको भूमरीबाट मुक्त गराउन सफल रहुन्, हार्दिक एवम् शुभकामना छ ।