बाढी पीडितलाई नेपाली सेनाको राहत

बसन्तपुर, २४ साउन । माडीका बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

गोपाल–प्रमिला स्मृति ट्रष्टको सहयोगमा राष्ट्रिय सेवा दलद्वारा तालिम प्राप्त स्वयम् सेवक क्याडेटहरुबाट माडीका बाढी पीडितलाई सोमबार राहत वितरण गरिएको हो । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र बहादुर क्षेत्री र मानार्थ उपरथी रविन्द्र क्षेत्रीका बुबा आमाको स्मृतिमा स्थापना गरिएको ट्रष्टले बाढी पीडितका लागि कम्बल सहयोग गरेको थियो । विपद् व्यवस्थापनको काम गर्दै आएको नेपाली सेनाले माडीका करिब सय घर परिवारलाई दुई सय वटा कम्बल वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा राष्ट्रिय सेवा दलको तालिम प्राप्त स्वयम्सेवक क्याडेटको तर्फबाट नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय शिवघाटका विद्यार्थीहरु, दी फेमस महेन्द्र दलका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटा, श्रीजङ्ग गण कसराका सहायक गणपति सेनानी (मेजर) विशाल शाह, समाजसेवी निर्मल पौडेल, नारायणी विद्या मन्दिर आवासिय माविका सञ्चालक अमर पराजुलीलगायतले माडीका बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

उक्त राहत वितरण कार्यक्रममा दी फेमस महेन्द्र दल गणका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटाले नेपाली सेनाले विपद्मा परेका नागरिकको उद्धार गर्नुका साथै उनीहरुलाई राहत वितरण समेत गर्ने गरेको उल्लेख गरे । नेपाली सेना देश र जनताप्रति सधैँ उत्तरदायी रहँदै काम गरिरहेको सापकोटाको भनाइ थियो ।