चितवनमा भाइरलका विरामीले अस्पताल भरिए, भाइरलबाट जोखिन डाक्टरको सुझाव, (भिडियोसहित)

राजेन्द्र आचार्य

चितवन, २४ साउन । गर्मी मौसम र वर्षायामको कारण धेरै रोगहरु देखा परेको छ । रुघाखोकी, ज्वरो, भाइरल, लगायतका बिरामहरु यो मौसममा धेरै देखिएका हुन् । चितवन जिल्लामा पनि भाइरलका बिरामीहरुको संख्या धेरै रहेको छ । जिल्लाका ठुला अस्पतालहरु, भरतपुर सरकारी अस्पताल, पुरानो मेडिकल कलेज, नयां मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, मौलाकाली अस्पताल, मनकामना अस्पताल लगायतका निजी अस्पतालहरुमा बिरामीहरु भरिएका छन् । सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ४० देखि ४५ प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका बारिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले बताएका छन् ।

सामान्य समयमा १ सय ५० जना बिरामीको परीक्षण गरिंदै आएकोमा अहिले दैनिक ३ सयको हाराहारीमा बिरामीको परीक्षण गरिएको अधिकारीले बताएका छन् । गम्भिर प्रकृतिका बिरामीहरु नभएपनि ओपिडीमा देखाएर घर जाने बिरामीहरुको संख्या धेरै रहेको डा. अधिकारीको भनँई छ । गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नु लगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा. अधिकारीले बताएका छन् । अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बताएका छन् । भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् । भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाँंच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् । भाइरल ज्वरोबाट पीडित व्यक्ति चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम गर्नुपर्छ ।