ओली सरकार गिराउन प्रचण्डलाई सहयोग गरे: अशोक राई

नवलपरासी, साउन २३ । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले ओली सरकारले मधेसका माग सम्बोधन गर्न नसकेपछि सरकार गिराउन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको बताएका छन्। फोरम नेपाल निकटको संघीय समाजवादी महिला फोरम नवलपरासीको जिल्ला भेलालाई शनिबार सदरमुकाम परासीमा सम्बोधन गर्दै नेता राईले नयाँ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि छलफल भइरहेको बताए। ashok-raiमाओवादी केन्द्र, काग्रेस र संघीय गठबन्धनबीच संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने र दलहरुबीच आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्नुका साथै आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिने सहमति भएपछि प्रचण्ड सरकारलाई समर्थन गरेको राईको भनाई छ। यस्तै, अपाङ्ग भएकाहरुलाई क्षतिपूर्ति, घाइतेको उपचार खर्च, पक्राउ परेकाहरुको रिहाइ र मुद्धा खारेज गर्ने सहमति भएको जानकारी नेता राईले दिए। उनले प्रचण्ड सरकारले मधेसका माग सम्बोधन गर्नेमा विश्वस्त रहेको बताए। संविधान संसोधन गर्न समेत तयार रहको नयाँ सरकारले वचनबद्धता जनाएकाले अब मधेस आन्दोलनले सफलता पाउने उनले बताए।