भूपू सैनिकहरुको स्वतन्त्र तथा छाता संगठन स्थापना हुने (भिडियोसहित)

चितवन, २२ साउन । चितवनमा पनि भूपू सैनिकहरुको स्वतन्त्र तथा छाता संगठन स्थापना हुने भएको छ । आगामी भदौ ११ गते नेपाल भूपू सैनिक संघ चितवनको जिल्ला कमिटि गठन गरिने भएको हो ।20160806_120055

भूतपूर्व सैनिकहरुको हक र अधिकारका बारेमा सम्पूर्ण भूपूहरु मिलेर अगाडि बढेमा प्रभावकारी हुने भएपछि संघको जिल्ला अधिवेशन गरि पहिलो जिल्ला कार्यसमिति गठन गर्न लागिएको हो ।

पहिलो जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिवमा एक÷एक जना पदाधिकारी निर्वाचित गर्नेछ भने १२ जना कार्यसमिति निर्वाचित गर्नेछ । त्यसैगरी, चितवनका पाँच वटै क्षेत्रमा रहेका क्षेत्रीय अध्यक्षहरु पदेन सदस्य हुँदै २० सदस्यीय जिल्ला कार्यसमिति निर्माण हुने नेपाल भूपू सैनिक संघ चितवन क्षेत्र नम्बर ३ का अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।

 

 भदौ ११ गते हुन लागेको जिल्ला अधिवेशनका बारेमा प्रशिक्षण दिन भरतपुरमा क्षेत्रीय भेला डाकिएको थियो । उक्त भेलामा क्षेत्रीय अध्यक्ष केसीले प्रशिक्षण दिँदै भूपू सैनिकहरुको हक र अधिकारको बारेमा आवाज उठाउन सम्पूर्ण भूत पूर्व सैनिकहरु राजनीतिक आस्थाभन्दा पर रहेर गोलबद्ध हुनुपर्ने बताए ।

अवकास प्राप्त सैनिकहरुको सेवा सुविधा दिलाउन तथा औषधि उपचारको लागि राजधानी बाहिर समेत अस्पतालको माग गर्नको लाग आफूहरुको अधिवेशन महत्वपूर्ण हुने केसीले बताए । भूतपूर्त सैनिकहरुले पाउने सेवा सुविधा काठमाडौँ केन्द्रित रहेको र त्यसलाई राजधानी बाहिरबाट समेत पाउने व्यवस्था हुनुपर्ने केसीको भनाइ छ ।

भूत पूर्व सैनिक कल्याणकारी कोषले उनीहरुका परिवारलाई दिँदै आएको सीपमूलक तालिम काठमाडौँ बाहिरका जिल्लामा सञ्चालन हुनुपर्ने, कल्याणकारी कोषबाट भूपूका एकल महिलाले पाउने सुविधा पट्टा जिल्लाको ब्यारेकबाट पाउनुपर्ने लगायतका आफूहरुको माग रहेको केसीले बताए ।

शनिबार भएको प्रशिक्षण कार्यक्रममा क्षेत्र नम्बर ३ का उपाध्यक्ष गंगाबहादुर थापा, क्षेत्रीय कमिटिका सल्लाहकार संयोजक पदम कार्की, सचिव दधिराम देवकोटा लगायतले मन्तव्य राखेका थिए । प्रशिक्षण कार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको थियो । चितवन जिल्लाभरी करिब १५ हजारको हाराहारीमा भूतपूर्व सैनिकहरु रहेको बताइएको छ । भदौ ११ गते हुने जिल्ला अधिवेशनमा १० जना सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको केसीले बताए ।