ऋण अपचलन गरेपछि सेञ्चुरीद्वारा धितो सकार (भिडियोसहित)

 

नारायणगढ, २२ असार । सेन्चुरी कमर्सियल बैंकले आफू बैंकिङ ऐन अन्तर्गत रहेर आफ्नो कारोबार सञ्चालन गर्दैै आएको जनाएको छ ।

शनिबार बैंकको नारायणगढ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि ऋणीसँग असुलीका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको हो । लिंक इन्टरनेशनको नाममा संस्थाका प्रोप्राइटर माधव कुमार गौतमले बैंकबाट पटक पटक गरि तीन करोड २० लाख रुपैयाँ ऋण लिएर कारोबार गरेको बैंकले जनाएको छ । गौतमले ऋणको अपचलन गरेपछि लिंक इन्टरनेशनलको नाममा धितो राखिएको घरजग्गा बैंकले सकारेको समेत बैंकका क्षेत्रीय प्रबन्धक गोकर्ण दुवाडीले जानकारी दिनुभयो ।20160806_134014

‘हामीले लिंकको नाममा मोटरसाइकल र कारको रिकण्डीसन हाउस सञ्चालन गर्न रकम दिएका थियौँ’ दुवाडीले भन्नुभयो, ‘तर अनुगमनमा जाँदा ऋणको अपचलन देखियो, अनि हामी बैंकिङ ऐन अन्तर्गत प्रकृया अगाडि बढाएका हौँ ।’ बैंकको धितोको रुपमा रहेको गौतमकी पत्नी अनु भट्टराई गौतमको जग्गा ऋणीले बिक्री गरि बैंकलाई साँवा ब्याज गरि ७८ लाख रुपैयाँ मात्र बुझाएको दुवाडीले जानकारी दिनुभयो । गौतमले ७८ लाख रुपैयाँ बुझाउँदा ब्याज र साँवा केही घटेको र हाल गौतमले बैंकलाई करिब दुई करोड ८० लाख रुपैयाँ तिर्नुपर्ने देखिएको दुवाडीले बताउनुभयो ।

 

बैंकले ऋणी गौतमलाई पटक पटक ऋण तिर्नको लागि पत्राचार गर्दा समेत बक्यौता कर्जा रकम नतिरी बेवास्ता गरेपछि बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको पत्रकार सम्मेलनमा बताइएको छ । बैंकले सूचना जारी गर्दा समेत ऋणी गौतमले बैंकमा सम्पर्क नगरेपछि उनको धितो बन्धक रहेको घरजग्गा बैंकले आफ्नो नाममा सकार गरेको क्षेत्रीय प्रबन्धक दुवाडीले बताउनुभएको छ । बैंकले पटक पटक पत्राचार गर्दा समेत ऋणीले घर खाली नगरेपछि बैंकले बाध्य भएर स्थानीय प्रशासन, प्रहरी र भरतपुर उपमहानगरपालिकाको सहयोगमा घर खाली गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मिति २०७२ चैत्र ४ गते गौतमले आफूले घर खाली गर्र्न स्थानीय प्रशासनको रोहबरमा १५ दिन थप म्याद माग गरेको र नगरेमा बैंक आफैले घर खाली गरे हुन्छ भनेकोमा म्याद थप गर्दा १५ दिन नपुग्दै उनले जिल्ला अदालत चितवनमा निशेधाज्ञाको मुद्दा दायर गरेको दुवाडीले जानकारी दिनुभयो । गौतमले पटक पटक निशेधाज्ञाको मुद्दा दायरी गरेकोमा चितवन जिल्ला अदालतबाट उक्त मुद्दाहरु खारेज गरिएपछि घर खाली गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

घर खाली गराउँदा बैंकले घरमा रहेको सामानहरु मुचुल्का गरि सुरक्षित राखेको समेत बैंकले जनाएको छ । बैंकले मुचुल्का गरि ताला लगाएको घरमा ऋणीले साउन २१ गते शुक्रबार आफूखुसी ताला तोडेपछि पत्रकार सम्मेलन गरि घटनाको बारेमा जानकारी गराएको हो ।