अमलेखगन्जको पेट्रोलियम पाइपलाइन चितवनसम्म ल्याउन गृहकार्य

 

चितवन, साउन १८ । भारतबाट पेट्रोलियम पदार्थको आयात गर्न रक्सोल–अमलेखगन्ज पाइपलाइन निर्माण अघि बढेको बेला त्यसलाई चितवनसम्म ल्याउन गृहकार्य सुरु भएको छ ।
ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानीसहित पोखरा, भैरहवा लगायत क्षेत्रमा खपत हुने भएकाले ढुवानी लागत घटाउन चितवनको लोथरसम्म पाइपलाइन निर्माण गर्न नेपाल आयल निगमले अध्ययन सुरु गरेको हो ।
पाइपलाइन अमलेखगन्जबाट चुरियामाईको जंगल हुँदै चितवन ल्याए दीर्घकालिन रुपमा पेट्रोलियम बिक्री–वितरण र व्यवस्थापन गर्न सजिलो हुनेछ । नेपाल र भारत सरकारबीच सम्झौता भएर अमलेखगन्जसम्म पाइप निर्माण सुरु गर्न अन्तिम चरणको अध्ययन भइरहेको छ । सो पाइपलाइन चितवनसम्म ल्याए मुलुकको हितमा हुने सरोकारवालाहरुको निष्कर्ष छ ।

पेट्रोलियम पाइपलाइन अमलेखगन्जमात्र नभएर चितवनसम्म ल्याउनुपर्ने आवश्यकता रहेको नेपाल आयल निगमका निमित्त नायव प्रवन्धक सुशील भट्टराईले बताए । त्यसको लागि निगमले अध्ययन गरिरहेको भट्टराईले बताए ।
अमलेखगन्ज र चितवनको लोथर आसपास क्षेत्रमा तेल स्टक गर्ने गरी परियोजना अघि बढाउँदा मुलुक संघीय संरचनामा जाँदा पनि वितरण व्यवस्थित गर्न सकिने निगमले जनाएको छ ।
अमलेखगन्जसम्म मात्र नभएर चितवनसम्म पाइपलाइन बिछ्याउन सके ढुवानीमा निकै सजिलो हुने पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।