बालश्रममुक्त अभियानमा कवाड व्यवसायी

वसन्त ढुंगाना
भरतपुर, १८ साउन । कवाड व्यवसायीलाई बालश्रमिकको प्रयोग गर्ने गरेको आरोप निकै लाग्ने गर्दछ, तर पछिल्लो समयमा भने चितवनका कवाड व्यवसायीहरु संगठित भएर बालश्रममुक्त अभियानमा लागेका छन् ।
‘अघिल्ला वर्षहरुमा ७० जना बालबालिका कवाड व्यवसायमा आवद्ध रहेका थिए । हाम्रो व्यवसायमा निकै कम १५ जनाको हाराहरीमात्र बालश्रमिक प्रयोग भएको पाइन्छ’ कवाड व्यवसायी संघ चितवनका अध्यक्ष सञ्जय प्रताप जैसवालले भने, ‘बालश्रममुक्त नगर बनाउनको लागि हामीले अभियान नै चलाएर प्रशासनलाई ४० हजार रुपैयाँ सहयोग समेत गरेका छौँ । हाम्रो लक्ष्य नै सडक बालबालिका कवाडको कामबाट हटुन् भन्ने हो ।’
कवाड व्यवसायी संघ चितवनले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने विधान बनाएको छ । केही वर्षअघि चितवनको नारायणगढ, भरतपुर र रत्ननगरका सडकमा फालिएका फोहोरलाई बोरामा संकलन गर्दै हिँड्ने बालबाललिकाको संख्या अत्याधिक देखिन्थ्यो । अहिले कवाडी सामान संकलन गर्दै हिँड्ने बालबालिका निकै कम रहेको संघका निर्वतमान अध्यक्ष नारायणसिंह गुरुङले बताए ।
‘हामी बालबालिलाई काममा लगाउँदैनौं । जिल्लाका विभिन्न संघसंस्थासंग मिलेर सडकमा बाँकी रहेका बालबालिकालाई उद्धार गर्ने प्रयासमा छौँ’ गुरुङले भने, ‘हाम्रा बालबालिकाहरु विभिन्न संघसंस्थाले उद्धार पनि गरेका छन् । अहिले बालबालिका पाउन कठिन भएको छ । यो राम्रो पक्ष हो ।’ बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गर्न छाडेपछि आम्दानी पनि राम्रो हुँदै आएको उनले बताए ।
चितवन जिल्लाबाट मासिक १८ करोड रुपैयाँभन्दा बढी कवाडको कारोबार हुने गरेको गुरुङले बताए । ‘फोहोरबाट राम्रो आम्दानी हुने गरेको छ । यहाँबाट मासिक ३५ गाडी कवाड सामान बाहिरिन्छ । एक गाडीमा ५० लाख रुपैयाँको सामान जाने गर्दछ’ उनले भने, ‘यस व्यवसायलाई व्यवस्थित गर्दै जाने हो भने बालबालिकाको प्रयोग गर्नु पर्दैन । युवाहरुलाई नै रोजगार दिन सक्छौँ ।’
कवाड व्यवसायीले वातावरण सफा राख्नको लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भरतपुर उपमहागनरपालिकाभित्र ५५ जना कवाड व्यवसायी रहेका संघको तथ्याङ्कमा उल्लेख गरिएको छ । राज्यले हेयको दृष्टिले हेर्दा कवाड व्यवसायी पछि पर्ने गरेको सम्वद्ध व्यवसायीहरुको गुनासो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवाल भने कवाड व्यवसायमा बालबालिकाको प्रयोग गर्दा कवाडी सामानहरु चोरी हुने समस्या देखिएको बताए । ‘उमेर पुगेका युवाहरुलाई मात्र काम गराउनु पर्दछ । आफ्नो व्यवसाय गर्दा भ्याटमा दर्ता गर्न छुटाउनु हुँदैन’ उनले भने, ‘बालबालिकाहरुको प्रयोगमा कमी भए पनि यसलाई निर्मुल पार्नु पर्छ ।’
जिल्लामा अझै एक सय ५० जना जति सडक बालबालिका रहेको सरकारी तथ्याङ्क छ । सामुदायिक प्रहरी नारायणगढकी अध्यक्ष मीना खरेल १८ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने बताउँछिन् ।
यसैबीच, सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सोमबार जिल्लाका कवाड व्यवसायीसंग अन्तरक्रिया गरेको छ । घरदेखि सडकसम्म ट्राफिक शिक्षा, हामी सबैका लागि ट्राफिक शिक्षा भन्ने नारासाथ भरतपुरमा ट्राफिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक प्रमुख राजन भेटवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उनले बजार क्षेत्रमा कवाड संकलन गर्दा बालबालिकाको प्रयोग गर्न नहुने, संकलित सामान ओसारपोसार गर्दा सुरक्षित तवरले गर्नुपर्ने, वातावरणमैत्री समाजको निमार्ण गर्न सहयोग पु¥याउन ब्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा प्रहरी नायव निरीक्षक कृष्णबहादुर ठकुरीले प्रशिक्षण दिएका थिए ।
ऋजबत अयलखभचकबतष्यल भलम