लागूऔषध ओसारपासरमा ट्रान्जिटप्वाइन्ट बन्दै हेटौंडा एकवर्षमा दुईसय ४३ पक्राउ

 
हेटौंडा, १७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७२÷०७३ मा अबैध लागूऔषधसहित दुईसय ४३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा भएर विभिन्न जिल्लामा लागूऔषधसहित जान लागेका युवालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुईसय ३५ जना पुरुष र आठजना महिला रहेका छन् । प्रहरीले आर्थिक वर्षको तुलनामा दोब्बरलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले आर्थिक वर्ष २०७१÷०७२ मा एकसय नौजनालाई पक्राउ गरेको थियो । जसमध्ये एकजना महिला छन् ।

प्रहरीले आर्थिक वर्ष २०७२/०७३ मा एकहजार सातसय ४५ एम्पुल डाइजेपाम, एकहजार सातसय ६१ फेनार्गन, ५० एम्पुल लोगोजेसिक र २८ एम्पुल नोरफिन पनि बरामद गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एकहजार सातसय ४३ एम्पुल व्युप्रिनोर्फिन, दुईसय चार ग्राम सातसय ४१ मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले तीनहजार एकसय ९५ केजी गाँजा, ३८ केजी चरेस, एकहजार ७५ ट्याब्लेट नाइट्रोभेट, १५ ट्याब्लेट इन्फाडोल, २७ ट्याब्लेट ऐभिल, १६ ट्याब्लेट प्रोक्सिन, एकसय ४० ट्याब्लेट कलोनाजेपाम र एकसय ८२ बोतल कोरेक्स उनीहरुबाट बरामद गरेको छ ।

प्रहरीले पक्राउ गरेको मध्ये सबैभन्दा धेरै १७–३५ वर्षका युवा रहेका छन् । ‘राजधानी प्रवेश गर्ने छोटो बाटो र देशको अन्य भागमा जाने बाटोको ट्रान्जिट भएका कारण दैनिकजसो चेकजाँचको क्रममा अबैध लागूऔषध सहित युवाहरु पक्राउ परेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले भने ।

गौतमका अनुसार पक्राउ परेकामध्ये धेरै काठमाडौं उपत्यकाका रहेका छन् । रक्सौलबाट खरिद गरेर आउने क्रममा हेटौंडा–१७ स्थित रातामाटेचेकपोष्टम चेकजाँचको क्रममा लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् । ‘छिट्टै धनी बन्ने र आफूलाई स्मार्ट बनाउनका लागि युवाहरु यसतर्फ केन्द्रित भएको देखिन्छ,’ उनले भने ।