चितवनमा भाइरलका बिरामी बढे

चितवन, १० साउन । वर्षायामसँगै चितवन जिल्लामा भाइरलका बिरामी बढेका छन् । सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन् ।
सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताएका छन् ।viral ko

सामान्य समयमा १५० जना बिरामीको परीक्षण गरिँदै आएकोमा अहिले दैनिक ३०० को हाराहारीमा बिरामीको परीक्षण गरिएको उनले बताए । उनका अनुसार बिहान बेलुका जाँच गर्ने पुष्पाञ्जली अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको छ ।

गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नु लगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा. अधिकारी बताउँछन् ।

अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनिले बताए ।

बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने शैयाको समेत अभाव भएको छ । जसका कारण भुईंमा राखेर उपचार गर्नुपरेको डा. मरासिनीले बताए ।

भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।