मिड र पिस लायन्स क्लबको अवार्ड वितरण तथा पदस्थापन

शिशिर सिंखडा

चितवन, १० साउन ।पूर्वी चितवनको रत्ननगरमा लायन्स तथा लियो क्लवको आयोजनामा आईतबार चार्टर नाईट, अवार्ड वितरण, पदस्थापन एवम् पारिवारिक भेटघाट कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ रत्ननगर पीस, लायन्स क्लव अफ रत्ननगर मिड नेपाल र लियो क्लव अफ रत्ननगर मिड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंह रहेका थिए ।20160724_192655-1024x576 कार्यक्रममा प्रमुख अतिथि सिंहले लायन्स क्लवले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सामाजिक परिवर्तनमा लायन्सवादको महत्वपूर्ण भूमिका रहेको बताए । राष्ट्र निर्माण र समाजको सकारात्मक परिवर्तनको लागि सबै क्षेत्रबाट लायन्सको जस्तै एकतावद्ध भई लाग्न समेत प्रमुख जिल्ला अधिकारी सिंहले आग्रह गरे । त्यस्तै अर्का प्रमुख अतिथि लायन्स क्लवका डिस्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईले विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लवले गरेका कामहरुको जानकारी गराउँदै सामाजिक रुपान्तरण अभियानमा “म सेवा गर्छु” भन्ने भावका साथ सबै नेपाली अगाडि बढे देश समृद्ध हुन धेरै समय नलाग्ने बताए । डिस्ट्रिक्ट गभर्नर भट्टराई र प्रमुख जिल्ला अधिकारी सिंहले बिरुवामा पानी हालेर तथा केक काटेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । लायन्स क्लव अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुरेश चन्द्र आचार्य, लायन्स क्लव अफ रत्ननगर पीसका अध्यक्ष कृष्णलाल श्रेष्ठ र लियो क्लव अफ रत्ननगर मिड नेपालका अध्यक्ष उमेश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षहरुले आ–आफ्नो संस्थाको प्रगति र भावी योजना प्रस्तुत गरेका थिए । सोही अवसरमा लोक तथा दोहोरी गायक मिलन लामा र साहित्यकार एवम् प्राध्यापक रामबाबु घिमिरेलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा लायन्स क्लव अफ रत्ननगर मिड नेपालका प्रथम उपाध्यक्ष जगदिश चन्द्र शर्मा, सचिव महेश पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गायक मिलन लामा र बाबु क्षेत्रीले गीत संगीत प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाका विभिन्न कार्यक्रमहरुमा सहभागी र सहयोग गर्ने सदस्यहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।