बालअधिकार र भित्तेपत्रिका लेखनबारे तालिम सम्पन्न

सिद्धि, ९ साउन । चितवनको सिद्धि गाविस २, तीनदोभानमा आइतबार बाल क्लब र किशोरी क्लबका सदस्यहरुको लागि आयोजित बालअधिकार र भित्तेपत्रिका लेखन सम्बन्धी चारदिने तालिम आइतबार सम्पन्न भएको छ ।
जर्मन कोअपरेसन र वेल्ट हंगर हेल्फे (डब्लु.एच.एच) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले आयोजना गरेको तालिममा २८ जना चेपाङ र तामाङ बालबालिका सहभागी थिए । उनीहरुलाई बालअधिकार, बाल संरक्षणको सवाल, बालश्रम, बालहिंसा, बालबालिका सम्बन्धी नीतिगत एवम् कानूनी व्यवस्थाबारे महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी गराएका थिए ।
तालिमको अन्तिम दिन आइतबार तालिममा सहभागी बालबालिकालाई पत्रकार सूर्यप्रकाश कँडेलले भित्तेपत्रिका लेखन र प्रकाशनबारे प्रशिक्षण दिएका थिए । तालिमपश्चात सहभागी बालबालिकाले पाँच समूहमा विभाजन भई भित्तेपत्रिकासमेत प्रकाशन गरेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका पोषण तथा पैरवी अधिकृत निर्मल कुशवाहाले गरेका थिए ।

.