चितवनका शैक्षिक परार्मश संघ नीति निर्माण सुझाव तर्फ सक्रिय बन्दै

चितवन, ०७ साउन । शैक्षिक परामर्श संघलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि नीति निर्माण सुझाव तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार गैंडाकोटमा बसेको परामर्श संघको बैठकबाट परामर्श संघलाई नियमन गर्नको लागि सरकारले व्यवस्थित नीति ल्याउनुपर्ने र त्यसमा संघले दिएको सुझावहरुलाई समेत मनन गर्नुपर्ने बताइएको छ । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले हचुवाको भरमा विद्यार्थीलाई विदेश पठाउन नहुने बताए । ecan news
वैदेशिक अध्ययनका लागि विद्यार्थी पठाउँदा कलेज बन्द भएमा उनीहरुले तिरको रकम फिर्ता गर्ने तरिकाले विमाको व्यवस्था गर्नुपर्ने आफूहरुको माग रहेको पाण्डेको भनाइ छ । विद्यार्थीहरुले महङ्गो शुल्क तिरेर विदेशमा अध्ययनको लागि उनीहरु पूर्ण रुपमा सुरक्षित महसुस हुनुपर्ने पाण्डेले बताए । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले तालिम लिएर मात्र परामर्श कर्ता बन्ने व्यवस्था हटाउनुपर्ने बताए । परामर्श कर्ताहरुको लागि कुनै विश्वविद्यालयले छुट्टै पाठ्यक्रम तयार गरेर त्यो उत्तीर्ण व्यक्ति मात्र परामर्शकर्ता हुने व्यवस्था गर्नुपर्नेमा सरकारलाई सुझव दिने बरालको भनाइ थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिका चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले वैदेशिक रोजगारीको माध्यमबाट रेमिट्यान्स भित्रिए पनि वैदेशिक अध्ययनले सोही मात्रामा पैसा बाहिर पठाएको बताए ।
वैदेशिक अध्ययनलाई व्यवस्थित गर्दै नेपाली मुद्रा विदेशीने क्रम रोकिनुपर्नेमा सिंहले जोड दिए । पछिल्लो समय शैक्षिक परामर्श केन्द्रहरुले अध्ययनको लागि विदेश पठाउने भन्दा पनि विदेश जाने सपना बाँड्ने गरेको सिंहको आरोप छ ।
अहिले प्रशासनले शैक्षिक परामर्श केन्द्रहरुको अनुमति पत्र मात्रै अनुगमन गरेको जानकारी दिँदै सिंहले आगामी दिनमा पढाउने तथा परामर्श गर्ने तरिकाको समेत अनुगमन गरिने हुँदा विद्यार्थीहरुलाई राम्रोसँग परामर्श दिन सुझाव दिए । कार्यक्रम नेपाल शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष जीवन रिजालको अध्यक्षतामा भएको थियो ।