एचआईभी संक्रमित दिक्षालाई अन्तराष्ट्रिय रेडरिवन अवार्ड (तस्वीरसहित)

राजेन्द्र आचार्य,
चितवन ५, साउन । चितवनकी एचआईभी संक्रमित दिक्षा रिमाललाई अफ्रिकामा नेपालको तर्फबाट अन्तराष्ट्रिय रेड रिवन अवार्ड २०१६ प्रदान गरिएको छ ।
२१औं अन्तराष्ट्रिय एड्स सम्मेलन २०१६ को अबसर पारेर १० हजार डलर सहित अवार्ड प्रदान गरिएको हो । उनी सहित अन्य विभिन्न देशका साहसिक महिलाहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो । नेपालबाट सो अवार्डका लागि २० जना सहभागि थिए ।
एचआईभी संक्रमित भएर पनि समाज परिवर्तन र संक्रमितहरुको जिवनस्तर परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै रिमाललाई अवार्ड प्रदान गरिएको जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले जानकारी दिए ।
श्रीमानबाट एचआईभी संक्रमित भई जिवनयापन गरेकी रिमालले समाजमा खुलेर विगत १ दशक देखि सक्रिय रुपमा सामाजिक काम गर्दै आएकी छिन् ।
उनले २०६२ सालमा चितवन सक्रिय महिला प्रतिष्ठान नामक सामाजिक संस्था नै स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिंदै आएकी छिन् ।
प्रतिष्ठानले एचआईभी लागेका मानिसहरुको परिक्षण, हेरचाह, उपचार सहयोग, परामर्श र महिला अधिकारका लागि लड्दै आएको छ । संक्रमित भएर पनि समाज परिवर्तनमा उनी सक्रिय छिन् । अहिलेपनि एचआईभी लागेका महिलाहरु खुल्न चाँहँदैनन् ।
तर उनलाई खुलेर समाजमा उदाहरणिय काम गरेकाले पछिल्लो समयमा संक्रमित महिलाहरु खुलेर जिवन सहज बनाउने र अरुलाई प्रेरणा दिंदै आएका छन् ।
उनले ७५ जना एचआईभी संक्रमित बालबालिकालाई समेत आश्रय दिंदै आएको न्यौपानेले बताए । रिमालले यसअघि १५ देशमा एचआईभी संक्रमितको केस स्टडी पुरस्कार र सन् २००५ को मिसेस एचआईभी स्टीमा फ्रि कन्ट्रेष्ट अवार्ड समेत पाएकी थिईन् ।