चितवनमा झण्डै २ अर्ब बजेट फ्रिज,


राजेन्द्र आचार्य

चितवन ५ साउन । चितवनमा यसबर्ष रु १ अर्ब ८९ करोड ७१ लाख ७७ हजार ७९० रुपैयाँ बजेट फ्रिज भएको छ ।

जिल्लाका विभिन्न ८३ वटा कार्यालयमा आएको चालु र पुँजिगत गरी सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख नारायणदत्त शर्माका अनुसार जिल्लामा आर्थिक बर्ष २०७२÷७३ का लागि रु १० अर्ब ७७ करोड ९७ लाख ५९ हजार ६२१ रुपैयाँ बजेट आएको थियो ।

जसमध्ये पुँजिगत तर्फ रु ४ अर्ब ४ करोड २५ लाख ९८ हजार २३० रुपैयाँमा २ अर्ब ९८ करोड १४ लाख १६ हजार ८७९ खर्च भएको उनले बताए । यो कुल बजेटको ६७.४१ प्रतिशत हुन आउँछन् ।

यस्तै चालु तर्फ ६ अर्ब ३५ करोड ७१ लाख ७१ ह्जार ३९१ रुपैयाँ बजेटमा पाँच अर्ब ९० करोड ११ लाख ६६ हजार ९५१ खर्च भएको थियो । जुन कुल बजेटको ९२ प्रतिशत खर्च भएको देखिन्छ ।
यसअघि गतआर्थिब बर्ष २०७१÷७२ मा सात अर्ब ३० करोड, १ लाख ६५ हजार ७९८ रुपैयाँ बजेट परेकोमा रु ६ अर्ब ३६ करोड ४८ लाख १५ हजार ९९४ रुपैयाँ खर्च भएको थियो भने एक अर्ब २३ करोड ५३ लाख ४८ हजार ८११ रुपैयाँ फ्रिज भएको थियो ।kolaneka

तुलनात्मक रुपमा चितवनमा आएको बजेट खर्चको अनुपातलाई हेर्दा विगतको भन्दा सन्तोषजनक रहेको प्रमुख शर्माले भने, जिल्लामा यसबर्ष सबैभन्दा बढी मुग्लीन नारायणगढ सडक तर्फ आएको थियो, काम भने ४२ प्रतिशत मात्रै भयो, यो अली सन्तोषजनक होईन ।

१३ अर्ब ७६ करोड ८९ लाख राजस्व संकलन

चितवनमा गएको बर्ष भन्दा यसबर्ष राजस्व संकलनमा भने उल्लेख्य बृद्धि भएको छ । गत आर्थिक बर्ष २०७१÷७२ मा ९ अर्ब ९३ करोड ८९ लाख २० हजार १६० रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक बर्ष २०७२÷७३ मा भने १३ अर्ब ७६ करोड ६० लाख ३२ हजार ३२८ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।
आम्दानी भएको राजस्व मध्ये सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालय भरतपुरले रु १२ अर्ब १३ करोड ९१ लाख १८ हजार ४१४ रुपैयाँ उठाउन सफल भएको छ ।

यस्तै मालपोत कार्यालय चितवनले ९४ करोड १५ लाख ३२ हजार ७२० रुपैयाँ संकलन गरेको छ भने यातायात व्यवस्था शाखा कार्यालय चितवनले २८ करोड ४५ लाख ९१ ह्जार ३९ रुपैयाँ संकलन गरेको उनले बताए ।

मुग्लिन नारायणगढ सडकमा ७४ करोड ५९ लाख ५९ हजार मात्र खर्च

चितवन जिल्लामा आएको बजेट मध्ये सबैभन्दा बढी बजेट परेको मुग्लीन नारायणगढ सडकखण्ड आयोजनाले आर्थिक बर्ष २०७२÷७३ मा जम्मा ४२ प्रतिशत रकम खर्च गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार १ अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट परेकोमा आयोजनाले जम्मा ७४ करोड ५९ लाख ५९ हजार १४३ रुपैयाँ मात्रै खर्च गरेको उनले बताए ।

अघिल्लो बर्ष कुल बजेटको २५ करोड मात्रै आयोजनाले खर्च गरेको थियो । यस्तै दोस्रो सबैभन्दा ठुलो बजेट परेको डिलिभजन सडक कार्यालय चितवनले पनि ९६ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.