६० प्रतिशत रोपाइँ सकियो, यो वर्ष खेत बाँझो नरहने

काठमाडौं, साउन ३ । यसवर्ष समयमै पानी परेकाले देशका धेरै ठाउँमा रोपाइँ सकिएको छ । अहिलेसम्म देशभर ६० प्रतिशतभन्दा धेरै रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार यसवर्ष ९५ प्रतिशतभन्दा धेरै रोपाइँ हुने अनुमान छ । पोहोर यो अवधीमा ४२/४३ प्रतिशत मात्र रोपाइँ भएकोमा यसवर्ष ६० प्रतिशत रोपाइँ सकिएकाले कुनै पनि खेत बाँझो हुने अवस्था नआउने उहाँले बताउनुभयो ।

पहाडमा साउनको पहिलो हप्तासम्म र तराईमा मध्य साउनसम्म रोपाइँ हुन्छ । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा किसानले समस्या भोग्दै आएका थिए । तर यसवर्ष पानीका कारण रोपाइँ गर्न सकिएन भन्ने गुनासो नआएको मन्त्रालयले जनाएको छ ।

यस्तै रासायनिक मलको पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता कार्कीले बताउनुभयो । पानी र मलको समस्या नभएकाले यसवर्ष धान उत्पादन बढ्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published.