पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी

चितवन, ३ साउन । बर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी रुपमा मात्र सवारीको आवागमन भईरहेको छ ।

दारेचोक–४ स्थित कालिखोला भन्ने स्थानमा पहिरो खसेपछि आईतबार बेलुका सात बजेदेखि नै बाटो एकतर्फी रुपमा सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

डोजरको सहायताले पहिरो पन्छाउने काम भईरहेको भएपनि झरी परिरहेकाले असहज भएको ट्राफिक प्रहरीको भनाई छ ।

आईतबार पनि पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड मध्यान्न १२ बजेसम्म एकतर्फी सञ्चालनमा थियो । पछिल्लो समय यो बाटो भएर यात्रा गर्ने यात्रुले निकै सास्ती बेहोर्ने गरेका छन ।
यो सडक एसिया स्तरको बनाउनका लागी भन्दै अहिले मर्मत तथा बिस्तारको काम भईरहेको छ ।

सडक फराकिलो पार्न पहाड फोरिएकाले थोरै पानी पर्दा समेत पहाड भस्किएर सडकमा खस्दा आवागमन प्रभाबित हुन्छ ।

पछिल्लो समय दिन दिनै सडक अबरुद्ध हुन थालेपछि बैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राजधानी काठमाडौँ तथा पोखरा लगायतका देशका मुख्य क्षेत्र जोड्ने यो मार्ग भएर दैनिक ८ हजार सवारीका साधन आवाज जावत गर्ने गर्दछन ।

Leave a Reply

Your email address will not be published.