चितवनका कृषकहरुले अनुदान रकम बढाउन माग

चितवन, असार ३० । चितवनका व्यावसायिक कृषकहरुले आफूहरुलाई प्रदान हुँदै आएको अनुदान रकम बढाउन माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा किसानहरुले आफूहरुले गर्दै आएको व्यवसायलाई दिगो बनाउनको लागि अनुदान रकम बढाउनुपर्ने बताएका हुन् । चितवनका केरा किसान तथा केरा उत्पादक संघ चितवनका पूर्व अध्यक्ष यज्ञ प्रसाद सुवेदीले चितवनमा केरा खेतीको लागि अनुदान रकम बढाउनुपर्ने बताए । केरा खेतीको लागि चितवन पकड क्षेत्र बन्दै गएकोले केरा किसानलाई अुनदान प्रदान गर्दै उनीहरुलाई आकर्षित गर्नुपर्ने सुवेदीले बताए । चितवनमा छ सय २० जना किसानले दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । जसमध्ये एक सय ९० जना किसानले मात्र विमा गरेका छन् भने किसानलाई विमातर्फ आकर्षण गराउनको लागि समेत कार्यालयले पहल गर्नुपर्ने सुवेदीको धारणा रहेको थियो । कार्यक्रममा किसान तुलसी प्रसाद वलीले साना किसानलाई समेत सम्बोधन हुने गरी कृषि कार्यालयले कार्यक्रम ल्याउनुपर्ने बताए । अर्का गड्यौला किसान ईश्वरी प्रसाद खतिवडाले गड्यौलाको मल प्रभावकारी हुने भएकाले यसको बजारीकरणमा कृषि कार्यालयले ध्यान दिनुपर्ने बताए । सेवाग्राहीहरुको जिज्ञासा समाधान गर्दै कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले माडीमा थोपा सिंचाई कार्यक्रम ल्याउने, थोरै जग्गा हुने किसानलाई समेत तत्काल राहतका कार्यक्रम प्रदान गर्ने तथा माडीमा माछा विशेष कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रमका सभापति स्थानीय विकास अधिकार श्रवणकुमार पोखरेलले डिप ट्युबेल निर्माणमा जिविसले सहयोग गर्ने बताए । माडीका किसानको समस्या सम्बोधन गर्न जनप्रतिनिधिहरुसँग कुरा गर्ने पोखरेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.