साकोस एकीकरण गर्न भावनात्मक एकता अनिवार्य

रामबाबु सुवेदी

भरतपुर, २७ असार । विगत केही समययता बचत तथा सहकारी संस्थाहरुबीच एकीकरणको चर्चा चलिरहेको सन्दर्भमा सोमबार भरतपुर बचत तथा सहकारी संस्था लि (भरतपुर साकोस) भरतपुर–१२ले सरोकारवाला संस्थाका बीच एकीकरणकै सवालमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।13644072_1311374515557297_1925401669_n

सो अवसरमा उपस्थित सरोकारवाला संस्थाका प्रतिनिधिहरुले छरिएर रहेका धेरैभन्दा धेरै सहकारीहरुलाई एकीकरण गर्न पहिला भावनात्मक एकताको विकास हुनुपर्ने औंल्याएका छन् ।
उनीहरुले एकीकरण अनिवार्य भइसकेको बताउँदै ठूलो, सानो, धेरै र थोरै पुँजी नभनी एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । यसको हुन सके सम्पूर्णको हितमा हुने उनीहरुको भनाइ थियो । कार्यक्रममा भरतपुर नगर क्षेत्रकै दुईदेखि चारवटासम्म साकोसहरु एकीकरणको नजिक पुगिसकेको जानकारी दिइयो । भरतपुरमै रहेको महिलाहरुको साकोस प्रभात र दिदीबहिनी एकीकरणको चरणमा पुगी सकेको प्रभात साकोसकी पूर्व अध्यक्ष एवम् नेफ्स्कुनकी केन्द्रीय सञ्चालक सदस्य शान्ति अधिकारीले बताइन् ।
त्यस्तै भरतपुरकै स्याउलीबजार, मालिका, गतिशील तथा चिनारी साकोसबीच पनि एकीकरणको चरणमा रहेको बताइयो । उनीहरुबीच कार्यदल समेत गठन भई कार्य अगाडि बढिसकेको स्याउलीबजार साकोसका उपाध्यक्ष लीलाधर आचार्यले बताए । सो अवसरमा आफ्ना धारणा राख्दै नेफ्स्कुनकी केन्द्रीय सञ्चालक सदस्य शान्ति अधिकारीले देशका अन्य जिल्लामा धमाधम एकीकरण हुने क्रम बढेको भए पनि चितवनमा भने सुस्तता आएको बताइन् ।
उनले भनिन्, ‘हामी जागरुक भएका छौं, तर एकीकरणको अभियानमा पछाडि परेका छौं ।’ ‘हामी नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने अभियानमा आजैदेखि लाग्नु पर्छ, उनको भनाइ थियो ।
कार्यक्रममा एकीकरणका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै भरतपुर साकोसका निवर्तमान अध्यक्ष मीनप्रसाद सुवेदीले एकीकरण अनिवार्य सर्त भएको उल्लेख गरे । उनले साकोसलाई सवल बनाउन, बृहत्तर क्षेत्रमा सेवा विस्तार गर्न तथा छिटो छरितो आधुनिक प्रविधिको प्रयोग गरी प्रतिस्पर्धी सेवा दिन सक्ने सवल साकोसको निर्माण गर्न थुप्रै चुनौती रहेको भए पनि सबैले एकै दृष्टिकोण बनाउन सकेमा चुनौतीको सामना गर्न सकिने दावी गरे ।
उनले भने, ‘थुप्रै चुनौतीहरु छन् व्यक्तिगत टकराव, राजनीतिक स्वार्थ, नेतृत्वको होडबाजी, राष्ट्रिय नीतिको अभाव तथा संस्थाहरुबीचका असमान हैसियतजस्ता कुरालाई आन्तरिक रुपमा इगो नराखी मिलाउन सक्नु पर्छ ।’ तबमात्र एकीकरण गर्न सकिन्छ ।
कार्यक्रममा दीपज्योति साकोसका भवनाथ सडौला, साजन साकोसका विष्णुभक्त वाग्ले, भरतपुर साकोसका विष्णुहरि पराजुली, स्याउलीबजार साकोसका लीलाधर आचार्य, सत्यनारायण राउतलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम भरतपुर साकोसका अध्यक्ष तारा बरालको अध्यक्षतामा भएको थियो । 

Leave a Reply

Your email address will not be published.