चितवनमा लिंग पहिचानपछि गर्भपतन बढ्दो : सर्वेक्षण

आनन्द पोखरेल

चितवन, २५ असार । लिंग पहिचान पछिको गर्भपतन लैंगिक विभेदको अदृश्य रुप भएको सरोकारवालाहरुले बताएका छन् । लिंग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने र छोरा भएको अवस्थामा जन्म दिने प्रवृत्ति बढ्दो क्रममा रहेको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
शनिबार बालबालिका तथा महिला अधिकार संरक्षण सञ्जाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका सम्बन्धी काम गर्दै आएको संस्था सिविनकी कार्यक्रम अधिकृत सारदा रिजालले लिंग पहिचानपछि गर्भ पतन गराउनेको संख्या बढ्दै गएको बताइन् । पहिलो सन्तानको रुपमा छोरी जन्मिएको अवस्थामा दोस्रो सन्तान जन्माउने क्रममा लिंग पहिचान गर्ने र छोरी भएमा गर्भ पतन गराउनको संख्या बढ्दै गएको रिजालले बताइन् । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत समानताको हकमा धर्म, वर्ण, जातजाति, लिंग र गर्भवास्था आदीको आधारमा भेदभाव गर्न नपाइने व्यवस्था उल्लेख भएपनि यसको कार्यान्वयन हुन नसकेको रिजालले बताइन् ।
कार्यक्रममा सरोकारवालाहरुले दुई महिनापछिको गर्भ पतनलाई अवैधानिक गराउनको लागि पहल गर्नुपर्नेमा जोड दिए । सामान्यतया तीन महिनामा लिंग पहिचान हुने हुनाले गर्भपतनको समस्या विकराल रुपमा बढ्दै गएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेलले बताए । दुई महिना पछिको गर्भपतनलाई कानुनबाट नै रोक लगाउन सकेको अवस्थामा लिंग पहिचानपछिको गर्भ पतन रोकिन सक्ने पोखरेलको भनाइ थियो ।
कार्यक्रममा बालबालिका अधिकार तथा महिला अधिकार संरक्षण सञ्जाल चितवनका संयोजक केशवप्रसाद रेग्मीले चितवनमा १० वर्षमुनीका बालकहरुभन्दा बालिकाहरु तीन प्रतिशतले कम रहेको एक अध्ययनले देखाएको उल्लेख गरे । सन् २०१५ मा कृपा संस्थाले गरेको अध्ययन अनुसार सय जना छोरी जन्मिदा उक सय १० जना छोराहरुको जन्म भएको देखिएको रेग्मीले बताए । यसरी छोराको संख्यामा वृद्धि आउनुको कारक तत्व खोजी गर्दा छोरी माथि हुने विभिन्न प्रकारको विभेद रहेको देखिएको रेग्मीको भनाइ छ ।
यसरी छोरीको संख्यामा कमी आउँदा छोरी र छोराको संख्यामा अन्तर आउने र जसको नकारात्मक प्रभाव जनसंख्यामा असन्तुलन आउनुका साथै महिला, किशोरी तथा बालिकामाथि अझ हिंसा बढेर जानसक्ने खतरा भएको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published.