चितवनमा चालीस प्रतिशत रोपाइँ

–बसन्त पराजुली
चितवन, २५ असार । यस वर्ष मनसुन छिटो भएकाले चितवनमा रोपाइँ पनि छिटो भएको छ । अघिल्लो वर्षका तुलनामा यो वर्ष चितवनका किसानले छिटो धान रोपेका छन् ।
‘यो वर्ष समयमै वर्षाद हुँदा छिटो रोपाइ भएको छ’, जिल्ला कृषि विकास कार्यालय चितवनमा बाली विकास कार्यक्रम हेर्ने सहायक प्राविधिक नोधनाथ लामिछाने भन्छन्,‘अघिल्ला वर्षहरुमा असार सकिँदै गर्दा जिल्लामा २५ प्रतिशत क्षेत्रफलमा पनि रोपाइँ हुने थिएन, अहिले असार सकिन एक साता बाँकी रहँदैमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।’riceplanting700
अहिले चितवनका किसानलाई रोपाइँको चटारो छ । यो साउनभर रहन्छ । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनामा किसानले धान रोपेर मंसिरमा भित्र्याउँछन् । यो वर्ष चितवनमा बुधबारसम्ममा ११ हजार ७२० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयको तथ्यांकअनुसार चितवनमा वर्षे धान रोपाइँ हुने क्षेत्र २९ हजार ३०० हेक्टर छ । अहिलेको रोपाइको अवस्थालाई हेर्दा साउन १५ सम्ममा रोपाइँ सकिने विश्वास गरिएको छ ।
चितवनमा अघिल्लो वर्ष ७ प्रतिशत खेतमा रोपाइँ हुन सकेको थिएन । वर्षात ढिलो हुनु मधेस आन्दोलनका कारण मल बीउ समयमा नपाउँदा चितवनमा लक्ष्यअनुसार धान रोपाइँ हुन नसकेको हो । गएको वर्ष २७ हजार ३४२ हेक्टर क्षेत्रमा मात्रै भएको रोपाइबाट ९२ हजार ६२५ मट्रिक टन धान उत्पादन भएको थियो । २०७१ सालमा २९ हजार ५७५ हेक्टर क्षेत्रफलमा १ लाख ३ हजार ५०० मेट्रिक टन भएको धान खेती उत्पादन भएको थियो ।
वर्षात्को अवस्था र समयमा मल बीउको सहजता हेर्दा यो वर्ष अपेक्षाकृत रुपमा धानको उत्पादन बढ्ने विश्वास प्राविधिकहरुमा छ । यो वर्ष जिल्लामा २९ हजार ३०० हेक्टरमा धान खेती हुने र १ लाख १० हजार मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published.