नेपालको आगामी कार्यदिशा प्राविधिक क्षेत्र : डाक्टर खतिवडा

आनन्द पोखरेल
चितवन, २३ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाले आगामी नेपालको कार्यदिशा कृषि, स्वास्थ्य र ईन्जिनियरिङतर्फ हुने बताएका छन् । गत वैशाखमा नेपालमा आएको विनाशकारी भूकम्प कारण नेपालमा धेरै भौतिक संरचनाहरु पुनर्निर्माण गर्नुपर्ने भएकाले अब ईन्जिनियरिङतर्फ ध्यान दिइने खतिवडाले बताए ।NPC Chi बिहीबार चितवनको नारायणगढमा आयोजना गरिएको स्वयम्सेवक सेवा राष्ट्रिय गोष्ठी तथा उत्कृष्ट स्वयम्सेवक सम्मान कार्यक्रममा खतिवडाले भूकम्प प्रभावित क्षेत्रमा हजारौँको संख्यामा ईन्जिनियर, ओभरसियर, सिकर्मी, डकर्मीको आवश्यकता परेका बताए । भवन निर्माणको लागि अनुदान वितरण पछि तत्कालै चाहिने सिकर्मी डकर्मीको लागि राष्ट्रिय योजना आयोगले धेरै स्वयम्सेवकहरु परिचालन गर्ने खतिवडाले बताए ।
राष्ट्र निर्माणको लागि सबैले समर्पण गर्नुपर्नेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाले जोड दिए । आठ घण्टा मात्र काम गरेर हुने राष्ट्र निर्माण हामीले देखिसकेका कारण अतिरिक्त खटाइ नभइ देशको विकास नहुने निश्कर्षमा आफूहरु पुगिसकेको खतिवडाले बताए । राष्ट्रको विकास गर्नको लागि युवाहरुलाई देशमा परिचालन गर्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो । राष्ट्रिय युवा नीति, युवा परिषद्को गठन गरि तथा युवा मन्त्रालयको माध्यमबाट समेत युवाहरुलाई उद्यमी बनाउने तयारीमा लागेको भन्दै डाक्टर खतिवडाले अबको दिनमा युवाहरु राष्ट्र निर्माणमा अगाडि बढुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगको सचिवालयद्वारा आयोजना गरिएको उत्कृष्ट स्वयम्सेवक सम्मान कार्यक्रममा देशभरीका विभिन्न क्षेत्रमा रहेर काम गरेका स्वयम्सेवकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका स्वास्थ्य, शिक्षा र कृषिमा काम गर्दै आएका स्वयम्सेवकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय विकास स्वयम्सेवक सेवाका निर्देशक शिवराज चौलागाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता राष्ट्रिय योजना आयोग सचिवालयका सहसचिव तुलसी प्रसाद गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.