भूकम्पीय जोखिम न्यूनीकरण गर्न भरतपुरमा छलफल

 

चितवन, असार २२ । भरतपुरमा एक दिवसीय भूकम्पीय जोखिम तथा उत्थानशीलता मूल्यांकन गोष्ठी आयोजना गरिएको छ । भरतपुर उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर ७ र ११ का टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजकलगयातका व्यक्तिहरुलाई भूकम्पीय जोखिम तथा उत्थानशीलता मूल्यांकन गोष्ठीमा सहभागी गराइएको थियो ।

नेपालमा छोटो दूरीमा नै समथर भूभाग र हिमाली भाग भएका कारण भूकम्पको उच्च जोखिम रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका संयोजक सुमन प्रधानले बताए । पछिल्लो समय नेपालमा तीव्र रुपमा सहरीकरण बढ्दै गएकाले समेत भूकम्पीय जोखिम न्यूनीकरण गर्नको लागि भवन निर्माण संहिता कार्यान्वयन हुनुपर्नेमा प्रधानले जोड दिए । कार्यक्रममा गरिएको सर्वेक्षण अनुसार भरतपुरका दुई वटा वडामा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न खासै पहल नभएको पाइएको छ ।

९० जना सहभागी रहेको गोष्ठीमा विभिन्न १८ वटा प्रश्नावली तयार पारि सहभागीहरुको मत लिइएको थियो । विपद् जोखिम न्यूनीकरण बारे वडामा कुनै संकेत नभएको, घर बनाउँदा भूकम्पले पार्ने क्षतिको बारेमा बेवास्ता गर्ने गरेको, विपद् जोखिम न्यूनीकरण सम्बन्धी सूचना प्रवाह नगरेको जस्ता विषयमा सहभागीहरुले आफ्नो मत राखेका थिए ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका कपिल भट्टराई र सहरी योजनाकर्ता अदिती ढकालले तयार पारेको प्रश्नावलीका बारेमा सहभागीहरुले मत जाहेर गरेका थिए । कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सूर्यप्रकाश लामाले चितवनमा राष्ट्रिय भवन संहता २०६८ सालदेखि लागू भएको बताए ।

संहिता लागू भएपछि भरतपुरभित्र तीन सय जना भवन निर्माणकर्तालाई तालिम दिइएको, विभिन्न कन्सल्टेन्सीका ७० जना ईन्जिनियर, तीन सय ५० जना घरधनीहरुलाई भूकम्प प्रतिरोधि तालिम प्रदान गरेको लामाले बताए ।

Leave a Reply

Your email address will not be published.