चितवनमा जमिन खण्डिकरणले उर्वर भुमि सकिदैं, केरा खेतीमा नकरात्मक असर (तस्विर सहित)

 

सरिता पौडेल
चितवन, २१ असार । उर्वर भुमि चितवनमा खेतीयोग्य जमिन खण्डिकरण हुने क्रम बढेसंगै यहाँको केरा खेतीमा नकरात्मक असर परेको छ । व्यवसायीक केरा खेती भएको जमिनमा भुमि व्यवसायीहरुले जग्गा किनबेच बढाउन थालेपछि केरा व्यवसायीहरु चिन्तित बनेका छन् । “केरा लगाइएको जग्गामा प्लटिङ बढ्दो छ , केरा व्यवासायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले भने, यसलाई नरोक्ने हो भने केही समयमा मासिन्छ ।” पन्त आफैले पनि ३० विगाहामा केरा खेती गरेका छन् ।

जसमध्ये उनको मात्रै ३ विगाहाको केरा खेती भएको जग्गा भुमि व्यवसायीले किने । “पाँच बर्षको लागि लिजमा जग्गा लिएको थिए । तर २ बर्ष नहुदैं जग्गाधनीले बेचेपछि घाटामा गएको छ उनले दुखेसो गरे । जग्गा प्लटिङले खेतीयोग्य जमिन सकिइसक्यो , केरा लगाइएको क्षेत्रमध्ये झण्डै ५० विगाहा क्षेत्रफलमा प्लटिङ भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याकं छ ।
केरा खेतीको पहिचान, कृषिमा नयाा अभियान भन्दै एक गाउं एक उत्पादन अन्तर्गत चितवनमा केरा खेतीको सम्भावना देखेर सरकारले जिल्लामा २०६८/०६९ देखि केरा खेती कार्यक्रमलाई प्राथमिकता दिएको थियो । सोही अनुरुप व्यवसायीहरु उत्साही भएर लगानी गरेका थिए ।
चितवनको रत्ननगर नगरपालिका, पदमपुर, पिठुवा,जुटपानी,जगतपुर,ठिमुरा,र चैनपुर केराको पकेट क्षेत्र हो । यहाँ करिब ६सय२० जना कृषकहरु यस व्यवासायमा सम्लग्न छन् ।

जिल्लामा २५सय विगाहामा केरा खेती गरिन्छ । जसमा ४०,४६ मेट्रिक टन केरा उत्पादन हुन्छ । यहाँ बार्षिक १ अर्व बराबरको कारोवार हुने गर्दछ । केरा व्यवसायी संघका अनुसार गत बर्ष २ हजार विगाहामा केरा खेती गर्दा ८० करोडको विक्रि भएको थियो । किसानले भने २० करोड नाफा निकालेका थिए । यसबर्ष ७५ करोड लागत लागेको र २५ करोड नाफा निस्किने अनुमान गरिएको छ ।
बैज्ञानिक भएन विमा
सरकारले व्यवसायलाई प्रोत्साहन स्वरुप विमाको व्यवस्था समेत गरेको छ । तर यो बैज्ञानिक नभएको भन्दै कतिपयले विमा समेत गरेका छन् । “विमा गर्दा लालपुर्जाको फोटोकपी अनिवार्य राख्नु भनेको छ ,व्यवसायी कृष्ण खनालले भने, “साहुले लालपुर्जा दिदैंन कहाँबाट ल्याउनु लालपुर्जा , त्यसैले विमा गरेको छैन ।”जिल्ला कृषि विकास कार्यालयका अनुसार चितवनमा १सय९० किसानले ४सय५० विगाहामा केरामा विमा गरेका छन् । यसको विमाङकन रकम १४ करोड हुन आउंछ । विमा गरिएका केरा मध्ये १करोड ८० लाख बराबरको ९० हजार बोट यसबर्षको हावाहुरीले क्षति पुर्याएको छ ।
एक गाउं एक उत्पादन कार्यक्रम कार्यान्वयन समितीका संयोजक एवं उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले खेतीयोग्य जमिनको फडानी चिन्ताको बिषय भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताए । “केरा खेतीको जमिनमा भएको प्लटिङ देख्दा हामी पनि दुखी छौं उनले भने खण्डिकरण रोक्न सरकारले उपयुक्त निति ल्याउनुपर्छ ।” व्यवसायीले जमिन भाडामा लिन्छ भने त्यसका लागि पनि जग्गाको करारको व्यवस्था हुनुपर्ने अध्यक्ष गौतमको भनाई छ । सरकारले खेतीयोग्य जमिन र आवासका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गनुपर्ने व्यवसायीको माग छ ।
सरकारले सहयोग गरे ४ बर्षमा आत्मनिर्भर
केरा व्यवसायमा देखिएको समस्या समाधानमा सरकार गम्भिर भए अबको ४ बर्षमा आत्मनिर्भर हुने विश्वास व्यवसायीको छ । “हामी अझै हरेश खाएका छैनौ व्यवासायी विष्णुहरी पन्तले भने सरकारले सहयोग गनुपर्यो ।”
तत्काल जग्गाको प्लटिङ रोक्नुपर्ने ,रोग नियन्त्रक टिशु कल्र्चर विरुवा ८० प्रतिशत अनुदानमा उपलब्ध हुनुपर्ने, दक्ष केरा प्राविधिकको व्यवस्था गर्नुपर्ने, र कृषि कर्जा धितो परियोजनालाई आधार मानेर सम्पुर्ण किसानको पहुँचमा पुग्नुपर्ने केरा व्यवसायीको माग छ । व्यवसायी संघका अध्यक्ष पन्त भन्छन् , यी ४ कुरालाई सरकारले सम्बोधन गरे अवको ४ देखि ५ बर्षमा केरामा आत्मनिर्भर भएर देखाउंछौं ।”
केरा खेतीको अनुगमन गरियो
एक गाउं एक उत्पादन कार्यक्रमको ५ बर्षे अवधि सकिनै लाग्दा जिल्लाका सरोकारवालाहरुले आज केरा खतीको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनीहरुले केरामा देखिएको समस्याका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए । अनुगमनमा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, उद्योग बाणिज्य संघका अध्यक्ष राजन गौतम सहित पदाधिकारीहरु, प्रहरी प्रमुख बसन्त कुमार कुवर , लगायत गएका थिए । तस्वीर : किशोर रिजाल 

Leave a Reply

Your email address will not be published.