भरतपुर आँखा अस्पतालले प्रदान गर्ने सेवामा सेवाग्राहीहरु सन्तुष्ट
चितवन, असार १७ । भरतपुर आँखा अस्पतालले चालु आर्थिक वर्ष २०७२/७३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार अस्पताल परिसरमा भएको सार्वजनिक सुनुवाईका क्रममा अस्पतालले पु¥याएको सेवाका बारेमा सबै क्षेत्रका व्यक्तिले प्रशंसा गरेका थिए ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालनमा आएको भरतपुर आँखा अस्पतालको सेवाका बारेमा गरिएको सर्वेक्षणमा समेत सेवाग्राहीहरु सन्तुष्टि भएको पाइएको तथ्यांक सार्वजनिक गरिएको थियो । अस्पतालमा धेरै समयसम्म लाइन बस्नुपर्ने भएकाले थप काउन्टरको व्यवस्था गर्दै अस्पतालमा आउने बिरामीलाई सहज बनाउनुपर्नेमा सेवाग्राहीले जोड दिएका थिए । अस्पतालको नागरिक वडापत्रमा उल्लेख भए बमोजिम सेवा पाउने गरेकोले आफूहरु सन्तुष्ट रहेको सेवाग्राहीको भनाइ रहेको थियो ।
सेवाग्राहीहरुले अस्पताल सरसफाई भएको शुद्ध खाने पानी भएको, बच्चाहरुको छुट्टै आँखा परिक्षणको व्यवस्था गरिनु, सेवाग्राहीलाई बस्नको लागि व्यवस्था हुनु, बिरामी मैत्री अस्पताल हुनु, डाक्टर र नर्सहरुको व्यवहार राम्रो हुनु अस्पतालका सवल पक्ष भएको बताएका थिए । अस्पतालले लिने गरेको टिकट शुल्क महंगो भएकाले यसको व्यवस्थापन गर्नुपर्ने, नाताबाद र कृपाबादमा सेवा प्रदान गर्न नहुने, औषधि उपचार गर्न टोकनको व्यवस्था हुनुपर्ने सेवाग्राहीहरुले सुझाव दिएका छन् ।
भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठ, कार्यक्रम अधिकृत सर्मिला पण्डित, रिता कंडेललगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।