भरतपुर उपमहानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई

विकास निर्माणका काममा सेवाग्राहीका धेरै गुनासा
चितवन, असार १७ । भरतपुर उपमहानगरपालिकामा नयाँ गाभिएका गाविसका स्थानीयहरुले नगरपालिकाको काम, कारबाही प्रति गुनासो गरेका छन् । उपमहानगरपालिकाको शुक्रबार मंगलपुरमा भएको आर्थिक वर्ष २०७२/०७३को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीहरुले मंगलपुर क्षेत्रको बाटो निर्माण गर्न कार्यालयले चाँडो पहल गर्न समेत माग गरे । सार्वजनिक सुनुवाईका क्रममा वडा नागरिक मञ्च भरतपुर १५ की संयोजक देवकी गौतमले वडा नागरिक मञ्चले पारित गरेका योजनाहरु वडामा नपारिएको बताइन् । वडा भेला गराएर आफूहरुलाई चाहिने योजनाका बारेमा निर्णय गरेर पठाएको भन्दा फरक योजनहरु वडामा परेका गौतमको भनाइ थियो ।Bnp

त्यसैगरी, उपमहानगरपालिकामा नयाँ थपिएका वडाहरुमा बाटोमा खाल्डोहरु धेरै भएकाले स्थानीय जनतालाई समस्या भएको गौतमले बताइन् । सार्वजनिक सुनुवाइका क्रममा मंगलपुर चौबिसकोठी सडकलाई चाँडै मर्मत गरि यातायात आवागमन सहज पार्न समेत गौतमले आग्रह गरेकी थिइन् । त्यसैगरी, सडकमा सडक बत्तीको व्यवस्था गर्नुपर्ने, विकास निर्माणका कामको नियमित अनुगमन हुनुपर्ने गौतमको भनाइ थियो ।

सार्वजनिक सुनुवाईका क्रममा वडा नागरिक मञ्च भरतपुर १८ का सदस्य वीरेन्द्र घिमिरेले उपमहानगरले स्थानीय सडक निर्माणको जिम्मा उपभोक्तालाई दिनुपर्नेमा ठेक्का पट्टा गर्दा काममा ढिलाई भएको उल्लेख गरे । वडा नम्बर १८ मा छ लाख रुपैयाँको ग्राबेल बाटो योजनामा परेको भए पनि असार सकिने बेलासम्म कुनै पनि सडकमा गिट्टी नबिच्छाइएको घिमिरेले बताए ।

आगामी आर्थिक वर्षका लागि वडाले छलफल गरेर पठाएको योजना भन्दा फरक योजना परेकाले विकास निर्माणको काममा नगरपालिकाको ध्यान नगएको घिमिरेको भनाइ थियो । कार्यक्रमा वडाबासीहरुले आफ्ना गुनासोहरु राख्दै संयुक्त वडा कार्यालयबाट भएको काममा भने खासै गुनासो नभएको बताए । कर्मचारीहरुले सेवाग्राहीप्रति राम्रो व्यवहार गरेका तर नीति नियमका कारण कार्यगत ढिलाई हुने गरेको सेवाग्राहीको गुनासो रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्येक वर्ष भरतपुरमा नै हुने गरेकोमा वडाहरु विस्तारसँगै सार्वजनिक सुनुवाई पनि फरक फरक ठाउँमा गर्ने योजना सहित शुक्रबार मंगलपुरमा गरिएको हो । सार्वजनिक सुनुवाईको अध्यक्षता भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल रहेका थिए ।

Leave a Reply

Your email address will not be published.