चितवन क्षेत्र नम्बर १ मा दुई अर्बको आयोजना

आनन्द पोखरेल 
चितवन, १४ असार । पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले क्षेत्र नम्बर १ मा साना ठुला तथा बहुवर्षे आयोजना गरि करिब दुई अर्ब रुपैयाँ बराबरका आयोजनाहरु निर्माण हुने क्रममा रहेको बताएका छन् ।
चालु आर्थिक वर्ष २०७२÷७३ मा सांसद विकास कोषबाट क्षेत्र नम्बर १ का सञ्चालन भएका आयोजनाको अनुगमनका क्रममा पाण्डेले अल्प कालिन आयोजना र बहुवर्षे आयोजना गरी करिब दुई करोड रुपैयाँ बराबरको आयोजनाहरु निर्माणको तयारीमा रहेको बताएका हुन् । पाण्डेले क्षेत्र नम्बर १ मा १० लाख रुपैयाँ भन्दा बढी १० करोड रुपैयाँसम्मका ३५ भन्दा बढी आयोजनाहरु निर्माण हुने बताए । उक्त क्षेत्रमा स्वीकृत भएका अधिकांश आयोजनाहरुमा सडक सञ्जाल निर्माण र विस्तार भएको पाण्डेले बताए ।ist news ko
विकास निर्माणको पूर्वाधार सडक भएकाले आफूले सडकलाई प्राथमिकतामा राखेर आयोजनाहरु पारेको पाण्डेले बताए । ‘मानिसको जीवनस्तर माथि उठाउने पूर्वाधार भनेको सडक रहेछ’ पाण्डेले भने, –‘सौराहा र लोथर जोड्ने १३ करोड ८५ लाखको बजेटमा बाटो बन्दैछ त्यो बाटो बनेपछि आर्थिक गतिविधिले गति लिन्छ ।’ आर्थिक गतिविधिमा वृद्धि भएपछि मानिसहरु विदेशीने क्रम घट्ने पाण्डेको बुझाइ छ ।
यस आर्थिक वर्षमा सौराहामा हल बन्नको लागि चार करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै त्यो हल पूरा गर्न वर्षेनि बजेट विनियोजन हुने पाण्डेले बताए । त्यो हल निर्माण सम्पन्न गर्नको लागि एक ढेड अर्ब रुपैयाँ भन्दा बढी लाग्ने समेत पाण्डेको भनाइ छ । सामान्यतया १० लाख रुपैयाँ बजेटका १८ वटा क्षेत्रीय सडक आयोजना क्षेत्र नम्बर १ मा निर्माणको लागि परेका पाण्डेले बताए ।
बहुवर्षे ठेक्का अनुसार आफूले ती सडक योजनाहरुमा बजेट पारेको जानकारी गराउँदै ती निर्माण सम्पन्न गर्दा करिब दुई अर्ब रुपैयाँको आयोजना भएको पाण्डेले बताए । अर्थ मन्त्रालयको सहमतिमा आयोजना ल्याएको कारण ती आयोजनाको रकम रातो किताबमा नदेखिने तर काम सम्पन्न हुने पाण्डेको भनाइ थियो ।
सडक बाहेक खानेपानीको आयोजनालाई प्राथमिकता राखेको पाण्डेको भनाइ छ । पिप्ले, भण्डारा, वीरेन्द्रनगर लगायतका ठाउँमा खानेपानी योजना छुट्याउन लगाएको पाण्डेले बताए । सुकुम्बासी समस्याको समाधान गर्न आफूहरुको चाहना हुँदा हुँदै पनि नसकिएको पाण्डेले बताए ।
जिल्ला विकास समिति चितवन, विभिन्न व्यवसायी, स्थानीय बासिन्दा, पत्रकार, उपभोक्ता समितिका प्रतिनिधिहरु अनुगमनमा सहभागी रहेका थिए । पाण्डेले साविकको बछौली गाविस, खैरहनी नगरपालिका, राप्ती नगरपालिकामा सञ्चालन भएका र सम्पन्न भएका आयोजनाहरुको अनुगमन गरेका थिए । चितवन क्षेत्र नम्बर १ को विकासका लागि आफूले भ्याएसम्मको कामहरु गर्ने पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published.