सदन चल्न देउ

आफ्नो सरकारको पालोमा आफैले गरेको निर्णय बिर्सेर नेपाली काँग्रेसले यति बेला भूकम्प पीडितहरुले पाउनेपर्ने राहतको विषयलाई लिएर सदन अवरुद्ध पारेको छ । केही दिन अगाडिदेखि प्रमुख प्रतिपक्षी काँग्रेले जारी राखेको सदन अवरोध अझै लम्बिने अनुमान प्रष्ट रहेको छ । निश्चितरुपमा सदनमा जारी अवरो ध लामो अवधिसम्म लम्ब्याई राख्दा राम्रा सन्देश जाँदैन । त्यसैले यसमा सत्तापक्ष र प्रतिपक्षले गम्भीरता देखाएर समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । तर अहिलेको प्रमुख प्रतिपक्ष, त्यसबेला सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि दाता सम्मेलन गर्नुबाहेक अरु उल्लेखनीय काम गर्न नसकेको यथार्थतालाई कम्तिमा उसले महसुससम्म गर्न सक्नुपर्छ ।
काँग्रेसको पालामा त्रिपाल काण्ड भएको यथार्थतालाई अरुले बिर्सेपनि तत्कालीन अर्थमन्त्री रामशरण महतले नबिर्सनु पर्नेहो । त्यसैले सत्तापक्ष–प्रतिपक्षले आरोप–प्रत्यारोप गरेर आफूलाई इमानदार देखाउन खोज्नुभन्दा वस्तुनिष्ठढंगले समस्या समाधानमा इमानदार प्रयत्न गर्नु उचित हुन्छ । भूकम्प प्रभावितहरुलाई घर निर्माणका लागि दुई लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ । तीन किस्तामा दिइने अनुदान प्रक्रिया अत्यन्तै झञ्झटिलो छ । यसलाई सरल र सहज बनाउन निर्माण सुरु गर्दा र निर्माण सम्पन्न गरि सके पछि दुई किस्तामा रकम उपलब्ध गराउन सकिन्छ । अर्को महत्वपूर्ण विषय अनुदान रकम हो, जो अत्यन्तै न्यून रहेको छ । मन्त्री, सांसद र कर्मचारीहरुको तलब सुविधा बढाउन सक्ने सरकारले पीडित परिवारलाई घरको जग र टिनको छानो राख्न मिल्ने गरी सहयोग गर्न सक्नुपर्ने हो ।
मुलुकलाई सहमति र सहकार्यबाटै अगाडि बढाउनुको विकल्प छैन । संविधान कार्यान्वयनदेखि भूकम्पपछिको पुनर्निर्माण लगायतका यावत विषयहरुमा कम्तिमा प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति आवश्यक छ । कुनै एउटा शक्तिको बलमा मात्रै मुलुक चल्न सक्ने अवस्था अहिले छैन । सदनमा जारी अवरो ध तत्काल हटाउन सत्तापक्ष र प्रतिपक्ष जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ । सरकारले भूकम्प पीडित परिवारलाई दिने राहत रकम तत्काल वृद्धि गर्दै उनीहरुलाई चाँडो राहत उपलब्ध गराउनु जरुरी देखिन्छ । संविधान निर्माणपछि मुलुकलाई समृद्ध बनाउने सपना देखेका राजनीतिक दलहरुले सानो तिनो विषयका बिबाद समाधान गर्दै सदनलाई नियमित रुपमा सञ्चालन गर्न दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published.