पहिरो पन्छाएपछि गाडी सञ्चालनमा

चितवन, १३ असार । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको विभिन्न क्षेत्रमा खसेको पहिरो पन्छाएपछि आज दिउँसोबाट गाडी सञ्चालनमा ल्याईएको छ ।

आज विहान पाँच बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको थियो । दिउँसोबाट बाटो सफा गरी गाडी चलाईएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो ।

 

यहाँ विहानैदेखि जाममा परेका गाडीहरु सयौंको संख्यामा रहेकाले सवारी आवागमन सहज हुन केही घण्टा लाग्ने कुँवरले जानकारी दिनुभयो । पहिरोका कारण यहाँ आज आठ घण्टा भन्दा बढी समयदेखि गाडीहरु वीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

उक्त सडकको ९ किलो,४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर विहानै देखि सडक बन्द भएको थियो । प्रहरीका अनुसार डोजर र लोडरको सहायतामा प्रहरीले बाटो खुलाएको हो ।

सडक खुलेसँगै चितवनबाट काठमाडौ, पोखरा लगायत क्षेत्र आवत जावत गर्ने सवारीहरु गन्तव्यतर्फ लाग्न थालेका छन् । तर गाडीको चाप रहेकाले यातायात सहज पार्न समस्या परिरहेको छ ।

उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ । चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुहरुले दैनिक सास्ती भोग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.