उपलब्ध काठ पनि वितरण हुन सकेन

बसन्त ढुंगाना
भरतपुर, ११ असार । जिल्लामा काठको माग बढिरहेको समयमा पनि जिल्ला वन पैदावार आपूर्ति समितिले आफूसँग भएको काठ वितरण गर्न नसक्ने जनाएको छ ।
काठ वितरण गर्दै आएको आपूर्ति समितिले समय अभावको कारण देखाई आफ्नो लक्ष्य अनुसार काठ वितरण गर्न नसक्ने जानकारी दिएको हो । ४२ हजार गोलिया सालको काठ वितरण गर्ने लक्ष्य लिएकोमा २९ हजार गोलियामात्र वितरण गर्ने तयारी जिल्ला वन पैदावार आपूर्ति समितिको छ ।
वन विभागबाट काठ वितरण गर्ने आदेश ढिलो आएको र वनमा रहेका काठ झिक्न ढिला भएको कारण काठ वितरणमा समस्या आएको बताउँछन् जिल्ला वन पैदावार आपूर्ति समिति चितवनका सदस्य सचिव तथा सहायक वन अधिकृत भरतप्रसाद पनुहर । ‘चैतबाट टिसिएनलाई काठ कटान गर्न जिम्मा दिएको हो । तर सबै काठ चिरान गर्न सकेन’ उनले भने, ‘१५ हजार १ सय ६० दशमलव नौ क्यूफिट काठ वितरण गर्न लागेका छौँ । २९ हजार गोलिया काठ वितरण गर्न सक्छौँ कि भन्ने लक्ष्य छ ।’
चितवन जिल्लामा दिनप्रतिदिन नयाँ घरहरु थपिने क्रम तीब्र छ । काठको आवश्यकता भएका उपभोक्ताहरु वन कार्यालयमा काठ सस्तोमा पाइने भएकाले जाने गर्दछन् । तर वन कार्यालयले काठ उपलब्ध गराउन नसक्दा, टिम्बर कार्यालय र समिलहरुमा जाने गरेका छन् ।
भरतपुर १० का शालिकराम साँखी पटकपटक वन कार्यालयमा काठ पाउने आशामा पुग्ने गरेका छन् । पटकपटक वन कार्यालयमा काठ आएपनि अझैसम्म काठ पाउन नसकेको उनले बताए । ‘नयाँ घर बनाउन लागेको छु’ उनले भने, ‘काठ सहज रुपमा पाउन सकेको छैन । वन कार्यालयमा सस्तोमा पाइन्छ भनेर निवेदन दिएको छु । महँङ्गो मूल्य तिरेर बाहिरबाटै काठ किन्नुपर्ने बाध्यता छ ।’
वन कार्यालयमा प्रतिक्यूफिट २ हजार ९ सयका दरले पाइने सालको चिरान काठ बाहिर समिलहरुमा ५ हजार ५ सय रुपैयाँसम्म पर्दछ । चितवनमा काठको माग अत्याधिक वृद्धि भइरहेको समयमा माग अनुसार आपूर्तिले काठ वितरण गर्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।
भरतपुर उपमहानगरपालिका ९ का लक्ष्मण शर्माले काठ सहज रुपमा पाउन नसक्दा घर निर्माण गर्न ढिला भएको बताए । ‘चारकोठे घर निर्माण गर्न लागेको ६ महिना भइसक्यो । झ्यालमा राख्ने काठ पाउन नसक्दा घर निर्माणको काम रोकिएको छ’ उनले भने, ‘वन कार्यालयले समयमा नै काठ उपलब्ध गराउन सक्दैन ।’
जिल्ला वन कार्यालयमा काठ माग गर्न आउनेहरुको घुइँचो लाग्ने गर्दछ । वितरण प्रकृया व्यवस्थित हुन नसक्दा आपूर्तिसँग भएका काठ कुहिएर जाने अवस्थामा रहेको बताउँछन् पटिहानीका शिव ढकाल । ‘जिल्ला वन कार्यालयमा काठ पाइन्छ कि भन्दै चार पटक आएँ, तर अहिलेसम्म काठ पाएको छैन’ उनले भने, ‘बाहिर किन्न सक्ने अवस्था छैन । आपूर्तिले भएको काठ पनि वितरण गर्दैन ।’
जिल्ला वन कार्यालयले नयाँ घर निमार्णका लागि २५ क्यूफिट र मर्मतका लागि प्रतिव्यक्ति १० क्यूफिट काठ उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म जिल्ला वन कार्यालयको वन पैदावार तथा आपूर्ति समितिमा निवेदन दिएका ८ सय ४८ जनालाई काठ वितरण गरिसकेको कार्यालयले जनाएको छ । कार्यालयले फागुन महिनामा १५ दिने निवेदन खुलाएको थियो । पहिले फर्म भरिसकेका सबैले २५ क्यूफिटका दरले काठ पाएका छन् । असार मसान्तसम्म थप ३ हजार क्युफिट काठ चिरान गरेर वितरण गर्ने लक्ष्य आपूर्ति समितिको छ ।
सामुदायिक वनहरुले घरकाज तथा विकास निमार्णका लागि काठ बिक्री गर्दा २५ प्रतिशत काठ जिल्ला वन कार्यालयलाई दिएरमात्र बिक्री गर्न पाउँछन् । ढलेका रुखहरु संकलन गरी घर निर्माण, प्राृकतिक प्रकोप उद्धार तथा विकास निमार्णका काममा लगाउने गरिन्छ । ढलेका रुख समयमै संकलन गरी चैत महिनादेखि जिल्ला वन आपूर्ति समितिले काठ वितरण गरिरहेको जिल्ला वन कार्यालयका प्रमुख गणेश रायले बताए ।
‘हामीसँग गत वर्षको १० हजार क्यूफिट काठमात्र मौज्दात रहेको थियो, त्यो वितरण गरिसक्यौँ’ जिल्ला वन अधिकृत रायले भने, ‘थप काठ वनबाट झिक्न ढिला भयो । हाम्रा झण्झटिला प्रकृयाहरु छन् । ढलेका काठ झिक्दा वन विभागबाट स्वीकृति गराउनु पर्छ । यस वर्ष भनेजति काठ वितरण नभएपनि अर्को वर्ष प्रकृया पु¥याएर काठ वितरण हुन्छ ।’
चितवन जिल्लामा ८० वटा सामुदायिक वन र वरण्डाभारमा १५ वटा वन छन् । जिल्ला वन कार्यालयको मातहतमा ४५ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । त्यसमा २० हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन पर्दछन् । । अधिकांस चुरे क्षेत्र र पहाडी गाविसका सामुदायिक वनमा काठ उत्पादन नहुने भएकाले जिल्लामा माग अनुसारको काठ वितरण गर्न नसकिएको जिल्ला वन कार्यालयका प्रमुख गणेश रायले बताए । गत आर्थिक वर्ष जिल्ला वन कार्यालय चितवनले १३ हजार क्यूफिट काठ चिरान गरेर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.