बार्तामा आउनुस् समाधान खोजौँ : रक्षा मन्त्री रावल

आनन्द पोखरेल
चितवन, १० असार । उपप्रधान एवम् रक्षा मन्त्री भीम रावलले सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल चेपाङ संघको चौथो राष्ट्रिय महाधिवेशनको शुक्रबार चितवनको नारायणगढमा उद्घाटन गर्दै रावलले अहिलेको राष्ट्रिय आवस्यकता भनेको सबै मिलेर मलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सरकारले पहिलो प्राथमिकतामा स्थानीय निर्वाचनलाई राखेको कारण कानुन निर्माणको प्रकृया अगाडि बढाइएको रावलले बताए । संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको रावलको भनाइ छ । नेपालले सबै क्षेत्रमा समावेशीतालाई अंगिकार गरेको उल्लेख गर्दै विश्वमा नेपालले मात्र सेना र गुप्तचर संस्थामा समेत समावेशी प्रतिनिधित्व गराएको रावलले बताए । तराई, पहाड हिमाल सबै क्षेत्रमा बस्ने नेपालीहरुमा एकताको भावना हुनुपर्नेमा जोड दिँदै रावलले नेपाली जनताको हितलाई ध्यान दिएर चिनसँग व्यापारिक सम्झौता गरेको उल्लेख गरे ।
कुनै जाति वर्ग लिंग र समुदायका मानिसहरुप्रति कुनै भेदभाव गर्न नहुनेमा रावलले जोड दिए । पहाडमा बसे पनि मधेसमा बसे पनि सबै नेपाली भएकाले सबैको भावनाका साथ अगाडि बढेमा मात्र देशले निकास पाउनेमा रावलले जोड दिए ।
केरुङ–ठोरी द्रुत मार्ग, फाष्ट ट्रयाक, लुम्बिनी पोखरा काठमाडौँ द्रूत मार्ग चाँडै नै निर्माण सम्पन्न गर्नको लागि योजना बनाउने काम भइरहेको रक्षा मन्त्री भीम रावलले बताए । सदन, सडक अवरुद्ध गरेर मुलुकको विकास हुन नसक्ने रावलले बताए । आन्दोलन, बन्द हडतालजस्ता मुलुकलाई पछि थकेल्ने कामहरु बन्द गर्दै सम्पूर्ण नेपाली नताको उत्थानको लागि सबैले सहयोग गर्नुपर्नेमा रावलले जोड दिए । वार्ताबाट समस्याको समाधान गर्दै मुलुकको हितमा काम गर्नुपर्ने रावलले बताए ।
नेपाल सरकारले सबैलाई आह्वान गर्दै बार्तामा बसेर छलफल गर्दै समस्याको समाधान गर्न जोड दिएको रावलले बताए । ‘लोकतन्त्रमा छलफलबाट कुनै पनि समस्याको समाधान गर्न सकिन्छ’ रक्षा मन्त्री रावलले भने, –‘अब हामी चेपाङ लगायतका अन्य उत्पीडित जातिको समस्या समाधान गर्न सबै जातिहरु एक भएर अगाडि बढ्नुपर्छ, आउनुस् बार्ता गरौँ ।’
मुलुकको सीमान्तकृत समुदायको रुपमा चेपाङ समुदाय रहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रबाट निकै पछाडि परेको यो जातिबाट अहिलेसम्म एक जनाले मात्र स्नातकोत्तर उत्तीर्ण गरेका पूर्व सभासद् गोविन्द राम चेपाङले बताए । चेपाङहरुको उत्थानको लागि राज्यले शिक्षा क्षेत्रमा लगानी गर्दै चेपाङहरु बसोबास गरेको ठाउँसम्म सडक निर्माण गर्नुपर्ने चेपाङको भनाइ थियो । चेपाङ समुदायको उत्थानको लागि काम गर्दै आएको भनेर अधिवेशनका क्रममा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलिया, पूर्व सभासद् गोविन्द चेपाङ, पत्रकार प्रताप विष्ट, गायिका सुनिमाया चेपाङ लगयातलाई सम्मान गरिएको थियो । शनिबारसम्म सम्पन्न हुने महाधिवेशनले विधान संशोधन सहित २९ सदस्यीय कार्यसमिति चयन गर्ने नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले बताए ।

Leave a Reply

Your email address will not be published.