चिकित्सा क्षेत्रमा लापरबाही

 

पछिल्लो समय नक्कली डाक्टरलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सा क्षेत्र अध्ययन गरेका नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरिरहँदा चितवनबाट पनि तीन जना नक्कली डाक्टर पक्राउ परे । उनीहरुले एमबीबीएस अध्ययनका लागि नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीको अभियोग छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिलको सहयोगमा नक्कली प्रमाणपत्र छानबिन अप्रेसन शुरु गरेपछि यस्तो रहस्य खुलेको हो । कतिपयको त एसएलसी नै नक्कली देखिएको प्रहरीको दाबी छ ।doctors cartton
नक्कली चिकित्सक पक्राउ प्रकरणले तीनवटा यथार्थ एकैसाथ उजागर गरेको छ । पहिलो सवाल त, जनताको जीवनसँग जोडिएको चिकित्सा क्षेत्रमा पनि कति खेलवाड हुँदोरहेछ भन्ने यसले देखाएको छ । हुन त कुनै पनि क्षेत्रमा विकृति हुनुहुँदैन, त्यसमा पनि अझ अन्य क्षेत्रमा नक्कली फेला पर्नु र स्वास्थ्य क्षेत्रमा नक्कली फेला पर्नुमा ठूलो अन्तर छ । चिकित्सा क्षेत्र यस्तो जिम्मेवार र संवेदनशील पेशा हो, जहाँ जनताको जीवन जोडिएको छ । चिकित्सकको लापरवाहीले कैयौं बिरामीको ज्यान गएका घटना पनि सार्वजनिक नभएका होइनन् । यो घटनाले सार्वजनिक गरेको अर्को यथार्थ हो चिकित्सा अध्ययन क्षेत्रमा रहेको बेथिति ।
नक्कली चिकित्सक पक्राउमा नेपालको प्रहरीको प्रशंसा गर्नैपर्छ, उसले सके जति विकृतिमाथि प्रहार गरिरहेको छ । अहिले नक्कली चिकित्सक पक्राउ प्रकरणले पनि चिकित्सा क्षेत्र सुधारमा ठूलो बल मिल्ने छ । चिकित्सा शिक्षालाई लिएर ठूलो बहस चलिरहेको छ । खासगरी डा. गोविन्द केसीको एकल आन्दोलनपछि सरकारले यसमा सुधार ल्याउन लागेको छ । चिकित्सा क्षेत्रमा भइरहेको चरम व्यापारीकरण अन्त्य हुनुपर्छ, च्याउ उम्रेजस्तै मेडिकल कलेज खोल्ने क्रम बन्द हुनुपर्छ । नक्कली डाक्टरलाई कारबाही गर्न प्रहरीले अनुसन्धान जारी राखेको बेलामा उनीहरुलाई दबाब र प्रभावमा राखेर अनुसन्धान प्रभावित गर्ने काम गर्नु हुदैन । नक्कली डाक्टरलाई जोगाउन खोज्दै आन्दोलनमा उत्रिएका चिकित्सक संघ पनि सच्चिुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published.