अपाङ्गता भएकालाई झोला बनाउने तालिम

चितवन, ०३ असार । अपाङ्गता भएका व्यक्तिहरुको सीप तथा क्षमतामा विकास गर्न सकियो भने उनीहरुको व्यक्तित्व विकासमा टेवा पुग्ने भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकालले बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई वातावरणमैत्री कपडाको झोला सिलाई तथा बुनाई तालिमको समापन समारोहमा बोल्दै ढकालले तालिममा सिकेका सीपलाई आर्थिक आधार विकासको माध्यम बनाउन सहभागीहरुलाई आग्रह गरे । चितवन उद्योग संघले पनि उत्पादित झोलाहरुलाई बजारसम्म लगेर बेचविखनको लागि अवसर जुटाइदिनुपर्नेमा ढकालको जोड रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सांग व्यक्तिहरुलाई जस्तै सिप र क्षमताको विकासमा जोड दिए उनिहरुले पनि समाजमा राम्रो काम गरेर देखाउन सक्ने ढकालले बताएका छन् ।
गत जेठ २६ गतेदेखी सुरु भएको यस तालिमले आंफुहरुलाई आर्थिक रुपमा सवल बन्न महत्वपुर्ण भुमिका खेलेको तालिममा सहभागी कोपिला सुनारले बताएकी छन् । सुनारका अनुसार यस्ता तालिमहरुको आयोजना विभिन्न समयमा भयो भने अपाङ्गता भएका व्यक्तिहरु पनि आफ्नै मिहेनतले जिवनयापन गर्न सक्ने छन् । तालिममा ६ किसिमका झोलाहरु बनाउन सिकाईएको थियो । यस तालिम भरतपुर उपमहानगरपालिकाको ५० हजार रुपैंया तथा महिला तथा बालबालिकाको कार्यालय चितवनको ४० हजार रुपैंयाको संयुक्त लगानीमा आयोजना गरिएको हो ।
अपाङ्ग समाज चितवनले आयोजना गरेको यस तालिममा अपाङ्ग जागरण चितवन र सुशुम्ना नाडी घाइते मैत्रीय समाज चितवनका गरी १८ जना अपाङ्गता भएका महिलाहरु सहभागिता तालिममा रहेको थियो । कार्यक्रमको समापन समारोहमा चितवन उद्योग संघका अधिकृत दधीराम चापागाईं, तालिमकी प्रशिक्षक सीता गुरुङ, अपांग बाल अस्पतालका परियोजना प्रमुख हिरा केसी, नेत्रहिन संघ चितवनका अध्यक्ष भरतमणी भट्ट, लगायतले बोलेका थिए । तालिमको समापन समारोह अपांग समाज चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.